मलाई भोट नदिनेहरूको पनि सभापति हुँ, सबैसँग मिलेर काम गर्छु: देउवा - Himal Post Himal Post
  • ४ असार २०८३, बिहीबार
  •      Thu Jun 18 2026
Logo

मलाई भोट नदिनेहरूको पनि सभापति हुँ, सबैसँग मिलेर काम गर्छु: देउवा



काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई भोट नदिनेहरूको पनि साथ लिएर पार्टी सञ्चालन गर्ने बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको निर्वाचित प्रमाणपत्र वितरण समारोहमा देउवाले आफू पार्टीमा सबैको सभापति भएको र सबैलाई समेटेर उनीहरूको मतको कदर गर्दै पार्टीलाई अघि बढाउने बताए।

उनले आगामी निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो दल बनाउनुपर्ने चुनौती रहेको उल्लेख गर्दै तिनलाई सामना गरेर पार्टीलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। त्यसका लागि पार्टीलाई निष्पक्ष ढंगले अघि बढाउने सभापति देउवाले बताए।

त्यस अवसरमा उनले आगामी निर्वाचनमा विजयी गराउने गरी पार्टीलाई अघि बढाउन सबैको साथ र सहयोग हुने विश्वास समेत व्यक्त गरे। सभापति देउवाले भने, “भोलिका दिनमा हाम्रो लागि ठूलो चुनौती पनि छ। स्थानीय निर्वाचनदेखि राष्ट्रिय निर्वाचनमा पनि पार्टीले जित्नुपर्नेछ। हाम्रो पार्टीले सबैभन्दा ठूलो पार्टी बन्नुछ। यो पार्टीले सच्चा मानेमा सम्पूर्ण नेपाललाई आत्मासात गर्दै, सम्पूर्ण नेपालको प्रतिनिधित्व गर्दै यस पार्टीलाई भोलिका दिनमा जसरी तपाईहरूले मलाई विश्वास गर्नुभो। म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन लाग्नेछु।”

पूर्ण रुपमा सबैको सहयोग, निष्पक्ष रुपमा सबैको सहयोग, महाधिवेशनमा भोट नहाल्नेसँग आफूलाई मतलब नभएको उनले बताए। “म सबैको सभापति हुँ। म सबैको सभापति हुने प्रयास मात्रै होइन्, त्यही गर्नेछु। मेरो जिम्मा ठूलो छ। त्यसकारण सबैलाई समावेश गरेर, सबैको सभापति बनेर, सबैको भावनाको कदर गरेर यो पार्टीलाई हाँक्न चाहन्छु। र यसमा सबैको सहयोग हुने विश्वास लिएको छु,” सभापति देउवाले भने।