अख्तियारका कर्मचारी जनताको करबाट तलव खान्छन, काम भने नेकपाको गर्छन: देउवा - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

अख्तियारका कर्मचारी जनताको करबाट तलव खान्छन, काम भने नेकपाको गर्छन: देउवा



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले तिरेको करबाट तलव खाएर अख्तियारका कर्मचारीले नेकपाको काम गर्ने गरेको आरोप लगाएका छन् ।

उनले आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारमाथि पूर्वाग्रही ढंगले भ्रष्टाचारको मुद्दा चलाइएको आरोप समेत लगाएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा किनबेच प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा चलाएपछि पहिलोपटक देउवाले सार्वजनिक रुपमा बोलेका हुन् ।

शेरबहादुर तामाङ स्मृति प्रतिष्ठान रामेछापले शनिबार रामेछाप सदरमुकाम मन्थलीमा आयोजना गरेको शव वाहन तथा एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा देउवाले भने, ‘अरु सबै उम्कने तर एक जनामाथि मात्रै भ्रष्टाचारको मुद्दा चलाउनु सरकारको गलत नियत हो।’

जनताले तिरेको करबाट तलब खाएर कुनै एक पार्टीको मात्रै काम नगर्न अख्तियारका कर्मचारीलाई देउवाले चेतावनीसमेत दिए ।

उनले पार्टीका सांसद गच्छदारमाथि षड्यन्त्रपूर्ण र अन्यायपूर्ण तरवले चलाइएको मुद्दा तत्काल फिर्ता लिन सरकारसँग माग गरे।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र सरकारी जग्गाको लालपुर्जा बोक्ने नेकपा महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएर कांग्रेस नेता गच्छदारमाथि मात्रै मुद्दा लगाइनु कांग्रेसका लागि मान्य नहुने बताए ।

उनले पनि सरकारको नियत नै खराब रहेको दाबी गरे।