सीमा विवाद र देउवा: के उनीसँग प्रमाण छ ? - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

सीमा विवाद र देउवा: के उनीसँग प्रमाण छ ?



काठमाडौं । भारतले नेपालको भुमि समेटेर नयाँ नक्सा जारी गरेपछि देशभर जनस्तरमा बिरोध भैरहेको छ । नेपालको लिपुलेक, कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि सुरु भएको विरोध अझै मथ्थर भएको छैन ।

पछिल्लो समय राजनीतिक दलहरुले सीमा विवाद जस्तो संवेदनशील विषयलाई एक–अर्काको आलोचना गर्दै हल्का रुपमा प्रस्तुत गर्न थालेका छन् ।

सिमाना मिचिएको विषयले मुलुकको राजनीति ताती रहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरे ।

मिचिएको भू–भाग कूटनीतिक पहल मार्फत फिर्ता ल्याउनुपर्नेमा राष्ट्रिय सहमति पनि भएको छ ।

बैठकबाट कुटनीतिक पहलमार्फत भारतले मिचेका नेपाली जमिन फिर्ता ल्याउन दलहरुबीच राष्ट्रिय सहमति बन्यो ।

दलहरु बीचको सहमतिले नेपालीहरुमा भारतले मिचेको भूभाग फिर्ता हुने आशा पलाएको थियो ।

तर दलहरुको पछिल्ला व्यवहारले उनीहरुको आशामाथि निराशा उत्पन्न हुने संकेत देखिएको छ ।

सीमा विवादजस्तो गम्भीर विषयलाई दलका नेताहरुले चुनावी आरोप प्रत्यारोपको विषय बनाएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वसभापति शेरवहादुर देउवाले शनिवार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीसंग सल्लाह गरेरै भारतले कालापानी र लिपुलेक आफ्नो नयाँ नक्शामा समेटेको जिकिर गरे ।

सर्वदलीय बैठकमा सहभागी भएका देउवाले कुटनीतिक पहल गरेर मिचिएका भू–भाग फिर्ता ल्याउनुपर्नेमा जोड दिएका थिए ।

यदि प्रधानमन्त्रीकै सहमतिमा भारतले पछिल्लो नक्सा बाहिर ल्याएको भए देउवाले सर्वदलीय बैठकमा किन यस विषयमा कुरा उठाएनन् ?

सीमा विवादलाई देउवाले चुनावी खपतको रुपमा मात्र उपयोग गरेका हुन या उनीसँग तथ्यगत प्रमाण पनि छ भन्दै चौतर्फी टिकाटिप्पणी भइरहेको छ ।

सामाजिक सञ्चालमा मात्र नभइ स्वयम् कांग्रेसभित्र पनि देउवाको अभिव्यक्तिको आलोचना हुन थालेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय विषयमा देउवाले दिएको अभिव्यक्ति घातक र अक्षम्य भएको टिप्पणी गरेको छ ।

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले चुनावी हार जितसंग सिमा विवाद जस्तो राष्ट्रिय विषय जोड्नु आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।

चार पटक मुलुकको प्रधानमन्त्री भइसकेका प्रमुख प्रतिपक्ष दलका सभापति देउवाको सीमा विवादबारेको सतही टिप्पणीले राष्ट्रियताप्रतिको जागरण बढायो कि नेताहरुको बोली प्रतिको विश्वास घटायो भन्ने विषयमा बहस सुरु भएको छ ।