लिपुलेक नेपाल, चीन र भारतकै केन्द्र हो: देउवा - Himal Post Himal Post
  • १४ माघ २०८१, सोमबार
  •      Mon Jan 27 2025
Logo

लिपुलेक नेपाल, चीन र भारतकै केन्द्र हो: देउवा



कैलाली । पूर्वप्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी र लिम्पियाधुरा नेपालकै भूभाव भएको भन्दै यसमा कुनै विवाद गरिराख्नु पर्ने अवस्था नभएको बताएका छन् ।

बिहीबार प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले कालापानी र लिम्पियाधुरा नेपालकै भूभाव भएकोले भारतले आफ्नो नक्सामा समेट्न नमिल्ने बताएका हुन् ।

‘लिपुलेक तीन देश (नेपाल, चीन र भारत) कै केन्द्र हो। त्यसलाई भारतले आफ्नो भन्न मिल्दैन’, उनले भने, ‘कालापानी र लिम्पियाधुरा नेपालकै भुभाग हो ‘ । पानी पनि आधा-आधा बाड्ने सहमति भएको हो।’

देउवाले सीमा विवाद सडकमा कुर्लिएर समाधान नहुने भन्दै कूटनीतिक पहल गर्न सरकारलाई आग्रह समेत गरेका छन् । उनले भने, “अहिलेको दुई तिहाइको सरकारले कूटनीतिक पहल गरेर सीमा समस्या समाधान गर्नुपर्छ, सडकमा विरोध गर्दैमा समाधान हुदैन।”