चुनाव नजिकै आउँदा पनि भोट माग्न गृहजिल्ला किन गएनन् देउवा ? - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

चुनाव नजिकै आउँदा पनि भोट माग्न गृहजिल्ला किन गएनन् देउवा ?



काठमाडौं- चुनाव नजिकिए पनि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा अहिलेसम्म भोट माग्न गृहजिल्ला पुगेका छैनन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उमेदवारी दर्ता गरेपछि पटक पटक झापा पुगे । माओवादी केन्द्रका अध्यक्ष चुनावी कार्यक्रमकै लागि गोर्खा छोडेका छैनन् ।

तर प्रधानमन्त्री देउवा भने कहिले गठबन्धनका कार्यक्रम त कहिले सरकारी काममै व्यस्त छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उमेदवारहरू मतदाता रिझाउन व्यस्त छन् । सबैजसो उमेदवार आफ्नो निर्वाचन क्षेत्रमा भ्याइनभ्याइ छ । शीर्ष नेताहरु पनि आफ्नो निर्वाचन क्षेत्रका चुनावी कार्यक्रममा व्यस्त छन् । तर, प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवा भने अहिलेसम्म आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छैनन्।

उनले एउटामात्रै निर्वाचन क्षेत्र रहेको डडेलधुरामा श्रीमती आरजु राणा देउवामार्फत् मनोनयन दर्ता गराएका थिए । मनोनयन दर्तापछि आरजु एक साता चुनावी गतिविधिमा संलग्न भएर काठमाडौं फर्किएकी थिइन् । डडेलधुराबाटै समानुपातिकको बन्द सूचीमा परेकी आरजुले छठ पर्व मनाएपछि मात्रै जिल्ला फर्कने बताएकी थिइन् ।

अहिले डडेलधुरामा वाम–लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन कमिटीका संयोजक तथा नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदको नेतृत्वमा देउवाको चुनावी प्रचार भइरहेको छ।

जिल्ला सदरमुकाम अमरगढी, आफ्नो गृहपालिका गन्यापधुरा, भित्री मधेसको जोगबुढा र भागेश्वर गाउँपालिकाको बगरकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गरेपछि उनको चुनावी कार्यक्रम सकिने गरेको छ । ०४८ सालदेखि निरन्तर डडेलधुराबाट निर्वाचन लड्दै आएका देउवाले पहिलोपटक कम्युनिस्टको पनि साथ पाएका छन् ।

अहिले देउवाविरुद्ध लामोसमय देउवाकै स्वकीय सचिव रहेका बीपी कांग्रेसका कर्ण मल्ल, स्वतन्त्र उमेदवार सागर ढकाललगायतका ८ जना उमेदवार चुनावी मैदानमा छन् । मल्ललाई नेकपा एमालेको समर्थन हुने बताइएकोमा एमालेले तालमेल तोडेको घोषणा गरिसकेको छ ।

गुल्मीबाट आएर देउवाविरुद्ध उमेदवारी दिएका इन्जिनियर ढकाल भने डडेलधुराका ग्रामिण क्षेत्रमा एकल रुपमै प्रचार गर्न व्यस्त छन् ।

एमाले अध्यक्ष ओलीले झापामा भएका विभिन्न कार्यक्रममा सहभागिता जनाएका छन् । ओली चुनावी अभियानमै व्यस्त छन् । उनी झापा र काठमाडौं लगातार ओहोरदोहोर गरिरहेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा हुने कार्यक्रम सकेर देश दौडाहामा निस्कने ओलीको तयारी छ । आइतबार पनि ओलीले झापाका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न भ्याए । उनले आफू प्रधानमन्त्री भएका बेला आफ्नै पार्टीभित्रका मान्छेले काम गर्न नदिएको दाबी पनि गरे ।

सत्ता गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा २ आफ्नालागि अहिलेसम्मकै सहज निर्वाचन क्षेत्र बताए पनि त्यहीँ व्यस्त छन् । उनी पनि मनोनयनदेखि पटक पटक निर्वाचन क्षेत्रमा केन्द्रित छन् । आइतबार पनि दुई दिनको कार्यक्रम सकेर काठमाडौं फर्किएका छन् ।

प्रचण्ड गोरखामा रहँदा आफूले पढाएको विद्यालयनजिक बास बस्नेदेखि मतदाता भेटघाटको कार्यक्रम बाक्लै गरेका छन् । उनले त्यहाँ आफू एउटा सपना बोकेर गोरखा आइपुगेको बताउँदै गोरखाबाटै आर्थिक क्रान्ति थाल्ने धारणा राखेका थिए ।

सो निर्वाचन क्षेत्रमा प्रभावशाली भूमिका निर्वाह गर्न सक्ने नेता डा. बाबुराम भट्टराई र कांग्रेस नेताहरुको साथमा प्रचण्डले चुनावी अभियान अघि सारेका थिए । उनले भट्टराईसँगै एक भएर गोरखाबाटै आर्थिक क्रान्तिको थालनी गर्ने बताएका थिए ।