८२ मतले देउवा खुस्किए - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

८२ मतले देउवा खुस्किए



काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणना सकिएको छ ।

सभापतिका उम्‍मेद्‍वार शेरबहादुर देउवाले २२५८ मत पाएका छन् । देउवालाई चुनाव जित्‍न ८२ मत अपुग भएको छ । डा .शेखर कोइरालाले १७२९ मत ल्याएका छन् । बिमलेन्द्र निधिले २४९ भोट ल्याउँदा प्रकाशमान सिंहले २८६ र कल्याण गुरुङले २० भोट ल्याएका छन् ।

१३औँ महाधिवेशनमा पनि देउवाको ११ मत कम हुँदा दोस्रो चरणमा सभापतिको निर्वाचन भएको थियो । १३औँ महाधिवेशनमा देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला सभापतिका लागि चुनावी मैदानमा थिए । ५१ प्रतिशत नपुगेपछि दोस्रो चरणमा देउवा र पौडेलबीच प्रतिस्पर्धा भएको थियो ।

१३औँ महाधिवेशनको पहिलो चरणमा देउवाको १५४६ मत आएको थियो । उनले ५० प्रतिशतभन्दा बढी मत पाउन सकेनन् । कांग्रेसको विधानमा सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पुर्‍याउनै पर्छ । देउवालाई जित्नका लागि १५ सय ७५ मत आवश्यक थियो ।

यस्तै पौडेल ११ सय ६० मत ल्याएर दोस्रो भएका थिए भने सिटौलाले तीन सय २४ मत पाएका थिए । दोस्रो चरणमा तेस्रो हुने सिटौलाले पहिलो हुने देउवालाई सहयोग गरेपछि देउवा सभापतिमा निर्वाचित भएक थिए । दोस्रो चरणमा देउवाले १८ सय २२ मत प्राप्त गरेर विजयी भएक थिए । त्यसैगरि पौडेलले एक हजार २५६ मत पाएका थिए ।

राति १ बजे सुरु हुने भनिए पनि चार बजेपछिमात्रै मत गणना सुरु भएको हो । कांग्रेसको यो अधिवेशनमा ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४६८१ जनाले मत खसालेका थिए ।