देउवाको गुनासो: ओलीलाई मैलेजति कसैले चिनेको छैन, महामन्त्रीले फोनै उठाएनन् - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

देउवाको गुनासो: ओलीलाई मैलेजति कसैले चिनेको छैन, महामन्त्रीले फोनै उठाएनन्



तरुण दल र नेविसंघ गठन गर्दा सोधेको हुँ । फोनचाहिँ उठाउनुस्, फोन उठ्दैन । फोन गरेर खोज्दा एउटा महामन्त्री कहाँ छु भन्छ, अर्को कहाँ । महामन्त्री खोजे भेटिँदैन । यहाँ रुँग्ने म मात्र भएँ । मलाई अहिले नखेद्नोस् । म पार्टी बलियो बनाएर छाड्न चाहन्छु । म पार्टी बलियो बनाएर रिटायर्ड हुने हो । मेरो चाहना कांग्रेसलाई पहिलो र प्रिय बनाएर छाड्ने हो । म शेखर (कोइराला)लाई पनि साथ लिएर जान्छु । (केपी) ओली र म सँगै जेल बसेको हो । ओलीलाई मैलेजति कसैले चिनेको छैन । त्यसकारण गठबन्धन गरौँ । मैले कहिल्यै पार्टी प्यालेसमा किन भेला गरेको भनेर सोधेको छैन । अबदेखिचाहिँ यहीँ गर्नोस् भनेको हुँ । प्रचण्डलाई गिरिजाबाबुले भारतबाट ल्याउनुभएको हो, छोड्ने बेला भएको छैन । माधव नेपाल पार्टी छोडेर आएका हुन्, उनलाई छोड्ने कुरा छैन । हामी एक्लै जित्दैनौँ । त्यसैले गठबन्धन गरौँ । मैले कसैलाई नभेट्ने भनेको छैन । शेखर आउनोस्, म भेट्छु, छलफल गर्छु ।

माथिल्लो प्याराग्राफ प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले बैठकमा राखेको भनाइको सारांश हो । देउवाले आफूले सबैलाई मिलाएर लैजान खोजेको समेत बताएका छन् ।

पार्टीलाई बलियो बनाएरै छाड्ने प्रतिबद्धता समेत देउवाले जनाएका छन् । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा शनिबार उनले पार्टीका पदाधिकारीहरूको फोन नउठ्ने गरेको भन्दै गुनासो पनि गरे ।

पार्टीभित्र एकलौटी गरेको भन्ने आरोपको उनले बचाउ गर्ने कोसिस गरे । उनले कांग्रेसले एक्लै निर्वाचन जित्न नसक्ने भन्दै गठबन्धन गर्नुपर्नेमा समेत जोड दिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।