संसदीय समितिले प्रधानमन्त्री देउवालाई बोलायो - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

संसदीय समितिले प्रधानमन्त्री देउवालाई बोलायो



काठमाडौँ- संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइमार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ ।

संसदीय सुनुवाइ विशेष समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले संवैधानिक निकायको नियुक्ति र राजदूत नियुक्तिलाई समावेशी तथा समानुपातिक बनाउनेबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने निर्णय गरेको हो । त्यसका लागि समिति सभापति लक्ष्मणलाल कर्णलाई प्रधानमन्त्री देउवासँग समय मिलाएर समितिको अर्काे बैठक बोलाउन जिम्मेवारी दिइएको संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

संसदीय सुनुवाइ समितिले यसअघि पनि संवैधानिक निकायमा हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउन सरकारलाई निर्देशन दिएको थियो । तर, त्यसको कार्यान्वयन नभएपछि त्यसबारे प्रधानमन्त्री देउवासँगै छलफल गर्ने निष्कर्षमा समितिमा पुगेको पनि उनले बताए ।

बैठकमा समितिका सदस्यहरूले संविधानमा संवैधानिक निकाय र राजदूत नियुक्ति समावेशी र समानुपातिक हुने व्यवस्था गरे पनि सरकारले त्यही अनुसार काम गर्न नसकेको बताएका थिए ।