प्रतिनिधिको लागि आफै चुनाव लड्दै देउवा - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

प्रतिनिधिको लागि आफै चुनाव लड्दै देउवा



काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्ने भएका छन्।

कांग्रेसको विधानअनुसार सभापतिदेखि केन्द्रीय समितिका सबै सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ। कांग्रेस विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ। उपधारा १ को (ग) मा भनिएको छ, ‘निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्य एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुनेछन्।’

सभापति देउवा भने आवश्यक नभए पनि डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने तयारीमा छन्। एक निर्वाचन क्षेत्र भएका जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन मंगलबार हुँदैछ। देउवाले मन्जुरीनामा मार्फत उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने तयारी गरेको डडेल्धुराका देउवा निकट एक नेताले जानकारी दिए। ‘विधानतः सभापतिले महाधिवेशन प्रतिनिधि हुन चुनाव लड्न पर्दैन। तर, जिल्लामा देखिएको समस्याका बीचमा उहाँले कार्यकर्ताको तहबाट आफूलाई प्रमाणित गर्न खोज्नुभएको हो,’ ती नेताले भने, ‘मन्जुरीनामा मार्फत उहाँको उम्मेदवारी दर्ता गर्ने तयारी भइरहेको छ।’

डडेल्धुरा कांग्रेसमा वडा अधिवेशनदेखि नै क्रियाशील सदस्यतालाई लिएर विवाद हुँदै आएको छ। वर्तमान जिल्ला कार्यसमितिका बहुमत सदस्यको बैठक क्रियाशील विवाद नमिलाइ अधिवेशनको प्रक्रिया अघि बढाउन नहुने निर्णय गरेको थियो। तर, संस्थापन समूहभित्रै अर्को समूहले प्रहरी परिचालन गरी अधिकांश वडा सभापतिको अनुपस्थितिमा सभापति कर्ण मल्ल समूहलाई बाइपास गरी अधिवेशन गराएको थियो

विवाद बढ्दै जाँदा मल्ल समूह कांग्रेस मुख्यालय सानेपामा अनसन बसिरहेको छ। तर, अर्को समूहले भने अधिवेशन प्रक्रियालाई अघि बढाइरहेको छ। जसअनुसार मंगलबार प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशन हुँदैछ। यस्तो अवस्थामा देउवाले गृहजिल्लामा आफ्नो शक्ति देखाउनका लागि महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गर्न लागेका हुन्।