देउवाले डाके निर्वाचित सबै सांसदको भेला
काठमाडौं- निर्वाचन आयोगले समानुपातिकको समेत अन्तिम परिणाम सार्वजनिक गरेपछि प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले भेला डाकेका छन् ।
देउवाले शनिबार पहिलोपटक कांग्रेसबाट निर्वाचित सबै सांसदको भेला बोलाएका हुन् । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेला बोलाइएको छ ।
भेलामा नवनिर्वाचित सांसदलाई बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायतका विषयमा छलफल हुने सांसद रामहरि खतिवडाले जानकारी दिए ।
यसैबीच, कांग्रेसले पुस पहिलो साता संसदीय दलको नेता चयन गर्ने भएको छ । पुस ३ गते समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेपछि संसदीय दलको नेता चयन गर्ने कांग्रेसको तयारी छ ।
कांग्रेस संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको गृहकार्यमा जुट्ने दलहरूको तयारी छ । संसदीय दलको नेतृत्व लिन कांग्रेसमा आकांक्षीको दौडधुप छ ।
कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षमा ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ जना सांसद निर्वाचित भएका छन् ।