तनाव र दवावमा देउवा- पद छोड्न सुझाव, आसेपासे चुपचाप
अनाबस्यक हठका कारण सत्ता गठबन्धन टुटेपछि कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टीभित्रै चर्को आलोचना भैरहेको छ । कांग्रेसकै देउवा समूहमा भने सन्नाटा छाएको छ । उता देउवाका निकट मानिएका नेताहरूको गलत सल्लाहाका कारण यो अवस्था आएको नेताहरूले बताउन थालेका छन् ।
त्यतिमात्रै होइन देउवा समूहका नेताहरूले यसको जवाफ दिनुपर्ने र देउवाले पद छाड्नुपर्ने आवाज उठ्न थालेको छ । सत्ता गठबन्धन भत्किएपछि देउवा समूहका नेताहरूले कुनै प्रतिक्रिया दिएका छैनन् ।
केही नेताहरूले भने सभापति शेरबहादुर देउवाले स्वाहाको बाटो रोजेको भन्दै आक्रोश पोख्न थालेका छन् । कतिपयले माओवादी अध्यक्ष प्रचण्डले धोका दिएको बताएका छन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई धोका दिँदा गठबन्धन भत्किएको बताएका थिए । उनले भने, ‘साथीहरूले प्रचण्डलाई धोका दिनुभयो । अब सबै गुम्यो । मेरो प्रयास सफल हुन सकेन ।’
यस्तै कांग्रेस नेता चन्द्र भण्डारीले नेतृत्वले आफूलाई बाहेक अरूलाई नदेखेर स्वाहाको बाटो रोजेको बताए । ‘बुझेकै हो । बुझ्नेले स्वाहाको बाटो रोजे पछि । आफूलाई भन्दा अरूलाई नदेखे पछि,’ भण्डारीले असन्तुष्टि छ ।
यस्तै केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले सबै गुमाएको जिम्मा पदाधिकारीहरूले लिनुपर्ने बताए । उनले भने, ‘हामी केही केन्द्रीय सदस्यहरू गठबन्धनभन्दा एक्लै निर्वाचनमा जानु उत्तम हुन्छ भन्दा पदाधिकारीहरुको गोप्य सहमतिको आधारमा एकजना प्रभावशाली महामन्त्रीजीले कांग्रेस नेतृत्वमा सरकार बनाउन गठबन्धन नै आवश्यक भएको प्रस्ताव सुनाउनुभो । पारित गर्न अनुरोध गरेपश्चात प्रस्ताव पास भयो ।’
संघदेखि प्रदेशसम्म सरकारबाट बाहिरिएपछि कांग्रेस पार्टीको इतिहासमा ७४ सिट छोडेर ९१ सीटमा लड्न बाध्य पारेको उनको आरोप छ । उनले पार्टीले सबै कुरा गुमाउँदासमेत केन्द्रीय समितिको बैठक आवश्यक नठान्ने नेतृत्वमाथि आक्रोश पोखेका छन् । पदाधिकारी र कार्यसम्पादन समितिले वर्तमान जटिल राजनीतिक अवस्थाको जिम्मा लिनुपर्ने उनको भनाइ छ ।
दवाव बढेपछि सबैभन्दा ठूलो दलले सातै प्रदेश र केन्द्रका सबै पदबाट हात धुनुपर्ने अवस्था सिर्जना भएको छ । यसको जवाफ देउवाले पार्टीमा दिनुपर्ने हुन्छ ।
कांग्रेसका केहि नेताहरूले भने देउवाले पद छाड्नुपर्ने बताउन थालेका छन् ।