देउवाविरुद्ध चुनावको तयारी गर्न डडेल्धुरा पुगे सागर ढकाल - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

देउवाविरुद्ध चुनावको तयारी गर्न डडेल्धुरा पुगे सागर ढकाल



काठमाडौं- पाँच वर्षअघि बिबिसीमा प्रसारण हुने साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न सोधेर चर्चित बनेका सागर ढकाल संसदीय चुनाव लड्ने तयारीका साथ डडेल्धुरा पुगेका छन्।

उनले केही समयअघि प्रधानमन्त्रीविरुद्ध डडेल्धुराबाटै संसदीय चुनाव लड्ने बताएका थिए। प्रधानमन्त्रीविरुद्ध उनकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका सागर त्यसकै तयारीका लागि डडेल्धुरा पुगेको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

उनले सामाजिक सञ्जालमा देउवालाई इंगित गर्दै लेखेका छन्, ‘मेरो प्रतिस्पर्धि सम्मानित प्रधानमन्त्री शेरबहादुर हजुरबुवासंग डडेलधुरा लोकल नाइट बसमा (सुरक्षित बनाएर)हात समाएर नातिसँगै जान यहि पोस्टमार्फत हजुरबुवालाइ अनुरोध गर्न चाहन्छु। सुन्छु डडेलधुराको बिकट गाउँबाट चप्पल पढ्काएर राजनीतिमा आउनु भएको हजुरबुवाले म जन्मिएदेखि जमिन टेक्नुभएको छैन, नेपाली जनताको पिडा सत्ताको मोहमा बिर्सनु भएको छ। परिवारबादमा सोच्न नसकिने गरि चुर्लुम्म डुब्नु भएको छ। डडेलधुरा पनि पाँच वर्षमा एक पटक जान पनि हम्मे हम्मे पर्छ रे। यस पटक उहाँलाइ जमिन टेकाउने प्रयास गर्नेछु। हजुरबुवालाइ नातिले डोर्याएर जमिन टेकाउनेछ।’

ढकाल पढ्नका लागि बेलायतको अक्सफोर्ड विश्वविद्यालय पुगेका थिए। उनले अक्सफोर्ड विश्वविद्यालयबाट पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गरेका छन्। देउवालाई प्रश्न सोध्नेबेला सागरले पुल्चोक क्याम्पसबाट हाइड्रो मेकानिकलमा बिई गरेका थिए।