ज्योतिषले दिएकै मितिमा चुनाव गर्न देउवाको प्रस्ताव - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

ज्योतिषले दिएकै मितिमा चुनाव गर्न देउवाको प्रस्ताव



प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना ज्योतिषले दिएकै मितिमा निर्वाचन गर्न प्रस्ताव गरेका छन् । उनले आगामी मंसिर ४ मा संघ तथा प्रदेशको एकै पटक चुनाव गर्ने मिति प्रस्ताव गरेका छन् ।

मंसिर ४मा निर्वाचन गर्दा देउवालाई फाइदा हुने भन्दै ज्योतिषले समय दिएका थिए ।बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले ४ मंसिरको मिति प्रस्ताव गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

प्रधानमन्त्रीले मिति प्रस्ताव गरे पनि सहमति भने जुटिनसकेको जनाइएको छ । शुक्रबार फेरि बैठक बस्ने भएकाले सो बैठकमा चुनावको मितिबारे निर्णय हुनसक्ने जनाइएको छ । बुधबार प्रधानमन्त्रीले मिति प्रस्ताव गरेपछि अन्य दलका नेताहरूले आफ्नो पार्टीमा आन्तरिक छलफलका लागि समय मागेका छन् ।

निर्वाचन आयाेगले मंसिर २ वा ५ का लागि चुनावकाे मिति ताेक्न सरकारलाई सुझाब दिइसकेकाे छ । तर प्रधानमन्त्री देउवा भने मंसिर ४ काे पक्षमा देखिएका छन् । कांग्रेसका नेताहरूले ४ मंसिरमै चुनाव हुने बताउँदै आएका छन् ।