देउवाले मध्यरातमा बालकोट पठाए दूत - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

देउवाले मध्यरातमा बालकोट पठाए दूत



सत्ता गठबन्धनमा नयाँ सरकार निर्माणको कुरा नमिलेपछि मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँग संवाद अगाडी बढाएका छन् ।

शनिबार बसेको गठबन्धनको बैठक सुखद नभएपछि देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा दूत पठाएका हुन् । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको दाबी नछाडेको बेला देउवाको यो कदमलाई अर्थपूर्ण मानिएको छ ।

सरकार निर्माणको विषयमा सहमति हुने सम्भावना सकिएपछि कांग्रेसले एमालेको साथ खोजेको हो । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएलगत्तै देउवाले बालकोट दूत पठाउनुलाई सत्ता गठबन्धन फुटेको रूपमा हेरिएको छ ।

लामो छलफलपछि पनि सहमति नभएपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेता विमलेन्द्र निधिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटका लागि बालकोट पठाएका हुन् ।

निधि देउवाको दूत बनेर बालकोट पुगेका थिए । निधि र ओलीबीच लामो छलफलसमेत भएको बताइएको छ । छलफलमा सरकार निर्माणमा कांग्रेस पहिलो दल भएकाले एमालेको साथ् खोजेको निधिले बताएका थिए ।

निधिले आफूलाई प्रधानमन्त्री देउवाले सन्देश लिएर पठाएको बताएका थिए । उता माओवादी केन्द्रले पनि सत्ता गठबन्धन सकिएको निष्कर्ष निकालेको छ । माओवादीले पनि एमालेसँग मिलेर सरकारमा जाने तयारी गरिरहेको छ ।

राष्ट्रपतिले सरकार बनाउन दलहरूलाई दिएको समय आज पाँच बजे सकिँदैछ । सो समय सीमाभित्रै दलहरू सरकार गठनको प्रस्ताव लिएर शीतल निवास जाने तयारीमा छन् ।