ओलीलाई देउवाले सोधे- दार्चुलाबाट भाषण ठोकेपछि लिम्पियाधुरा आउँछ ? - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

ओलीलाई देउवाले सोधे- दार्चुलाबाट भाषण ठोकेपछि लिम्पियाधुरा आउँछ ?



धनगढी– प्रधानमन्त्री शेरबहादुर देउवाले दार्चुलामा भाषण गर्दैमा अतिक्रमित भूमि फिर्ता नहुने बताएका छन्।
शुक्रबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति संकेत गर्दै देउवाले कूटनीतिक ढंगले भूमि फिर्ता ल्याउनुपर्ने बताए।

‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा आउँछ? कि लड्नुप-यो। बन्दुक ल्याउनुहोला। होइन भने कूटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो। गफमा त हामीले काठमाडौं नै बसेर भारत नै हाम्रो भनिदिन पनि सक्छौँ,’ शनिबार डडेल्धुराको अजयमेरू गाउँपालिकामा आयोजित चुनावी सभामा उनले भने।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले शुक्रबार दार्चुला गएर भारतले मिचेको जमिन एक इन्च पनि नछोड्ने, फिर्ता गर्ने भन्दै भाषण गरेका थिए। शनिबार प्रधानमन्त्री देउवाले यसैको जवाफ दिएका हुन्।

कांग्रेसका सभापतिसमेत रहेका देउवाले चुनावपछि पनि गठबन्धन सरकार बन्ने दाबी गरे। ‘षड्यन्त्रपूर्ण तरिकाले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गर्नुभयो। त्यसका विरुद्धमा गठबन्धन बनेको हो। त्यसैले, चुनावपछि पनि गठबन्धन सरकार बन्छ,’ ओलीप्रति कटाक्ष गर्दै उनले भने।

देउवाले कांग्रेस र माओवादी केन्द्र मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गरे। ‘खगराज भट्ट माओवादीको नेता हो। उहाँ र हाम्रो पार्टीका साथीहरू मिलेभने सुदूरपश्चिमको विकास हुन्छ। डडेल्धुराको सबैभन्दा बढी विकास हुन्छ। उहाँलाई शेरबहादुर देउवा नै हो भनेर भोट हालिदिनुहोला।’

देउवाले आफू पाँचौपटक प्रधानमन्त्री भइसकेको र डडेल्धुराको विकासमा लागिरहेको बताउँदै केही काम गर्न भने बाँकी रहेको स्पष्ट पारे।

‘डडेल्धुरामा मेडिकल कलेज भइसकेको छ। एयरपोर्ट बन्दै छ। म यहाँको सहयोगले पाँचपटक प्रधानमन्त्री भइसकेको छु। यहाँको सहयोगले फेरि अगाडि बढ्नेछु। डडेल्धुरामा केही काम गर्न बाँकी छन्। त्यसलाई पूरा गर्ने छु। यहाँको सडक पिच गर्नेछु। विमानस्थल बनाउने छु। सबैलाई खानेपानी पुर्याउने विश्वास दिलाउँछु,’ उनले भने।

देउवाले ३६ सालदेखि आफू लगातार गाउँ आइरहेको बताउँदै योपटक गाउँ आउन पाउँदा शौभाग्यशाली ठानेको बताए।

यहाँ धेरै मेरा साथी भाइ पनि छन्। यो ठाउँमा फेरि भेट्न पाउँदा आफूलाई शौभाग्यशाली ठान्छु। धेरै भन्नु केही छैन,’ उनले भने।