प्रचण्ड चितवन पुगेलगत्तै देउवा र ओलीको आकस्मिक छलफल, के भयो कुरा ? - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

प्रचण्ड चितवन पुगेलगत्तै देउवा र ओलीको आकस्मिक छलफल, के भयो कुरा ?



काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवन गएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आकस्मिक भेटवार्ता भएको छ ।

बिहानै बालुवाटार पुगेका एमाले अध्यक्ष ओलीले नागरिकता विधेयक रोक्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् । चितवन पुगेका प्रचण्डले
नागरिकता विधेयकबारे एमालेले पाखण्डीपन देखाएको भन्दै चर्काे आलोचना गरेलगत्तै बालुवाटारमा देउवा र ओलीबीच छलफल भएको छ ।

चितवन पुगेका प्रचण्डले त्यहाँ आयाेजित पत्रकार सम्मेलनमा एमालेले नागरिकता विधेयकबारे गलत ढंगले प्रचार गरिरहेको बताएका थिए । उनले भोट बटुल्न नागरिकताबारे एमालेले गलत प्रचार गरेको बताएका थिए ।

प्रचण्डले भनेका थिए, ‘राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न सकिन्छ कि भनेर दुस्साहस गरिररहेका छन् । तर नेपाली जनता सचेत भइसकेका छन्, बुझिसकेका छन् । यस्ता पाखण्डी प्रचारको पछि लाग्दैनन् ।’

प्रचण्डले यस्ताे टिप्पणी गरेलगत्तै बिहान देउवालाई भेट्न ओली बालुवाटार पुगे। बालुवाटारमा भएको भेटवार्तामा ओलीले प्रधानमन्त्री देउवालाई राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक रोक्न आग्रह गरे।

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको भए पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट दोस्रोपटक पारित भइसकेको छ । अब राष्ट्रियसभाबाट पनि पारित गरेर प्रमाणीकरणका लागि पुनस् राष्ट्रपतिसमक्ष पेस गर्ने सरकारको तयारी छ । सरकारले दुवै सदनबाट पास गरेर प्रमाणीकरणका लागि दोस्रोपटक पेस गरेको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यस्तै ओलीले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकबारे पनि चासो राखेका थिए । बैठकमा सहभागी एमाले उपाध्यक्ष विष्णु पौडैलका अनुसार मेलमिलाप विधेयकमा पीडकलाई उन्मुक्ति दिने गरी सरकारले विधेयक ल्याएकोले त्यसलाई सच्याउन ओलीले आग्रह गरेका थिए ।

सबै पीडितले न्याय पाउने गरी विधेयक ल्याइनुपर्ने ओलीको भनाइ थियो । यस्तै ओलीले आगामी प्रदेश र प्रतिनिधिसभाको चुनाव स्वतन्त्र र निष्पक्ष वातावरणमा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

पौडेलका अनुसार ओलीले महँगी नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्नुपर्ने सुझाव पनि ओलीले देउवालाई दिएका थिए । ओलीको सुझावप्रति प्रधानमन्त्री देउवाले सकारात्मक जवाफ दिएको पौडेलले जानकारी दिए ।