प्रधानमन्त्रीले मलाई हेपे - देउवा - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

प्रधानमन्त्रीले मलाई हेपे – देउवा



काठमाडौँ

बुधबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवाले सरकारले एकपछि अर्को विधेयकमार्फत प्रजातन्त्रलाई समाप्त पार्न लागेको आरोप लगाएका छन्। सरकारले पछिल्लो समय ल्याएको विधेयकले लोकतन्त्रका मूल्यमान्यतामाथि आक्रमण गरेकाले कुनै पनि हालतमा पारित हुन नदिने चेतावनी दिए।

अत्यन्त आक्रोशित मुद्रामा संसदमा प्रस्तुत भएका देउवाले मिडिया काउन्सिल, सूचना प्रविधि, राष्ट्रिय सुरक्षा परिषद सम्बन्धी र राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धी विधेयकलाई काङ्ग्रेसले जतिसुकै मूल्य चुकाउनु परे पनि पास हुन नदिने घोषणा गरे।

देउवाले भने, ‘सरकारले प्रजातान्त्रको खिलापमा १०१ विधेयक ल्याएको छ। यसलाई कुनै पनि हालतमा हामी पारित गर्न दिँदैनौँ। हिजोभन्दा बढी सशक्त भएर आउने छौँ।’

उनले गुठी विधेयक फिर्ता लिनु सकारात्मक भए पनि संसदीय अभ्यासविपरीत भएको बताए। विधेयक संसदबाटै फिर्ता लिनुपर्ने गर्ने ठाउँमा बाहिरबाट फिर्ता लिनु आपत्तिजनक भएको दाबी गरे।

आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हेपेको भन्दै देउवाले आक्रोश पोखे। उनले भने, ‘संसदमा विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री जहिले पनि उपस्थित हुनुपर्ने भए पनि उपस्थित भएका छैनन्। प्रधानमन्त्रीले हेप्‍ने काम गरेका छन्। प्रधानमन्त्रीले बोल्दा विपक्षी आउनै पर्छ, विपक्षीले बोल्दा प्रधानमन्त्री आउनै पर्छ।’