देउवासँग बाबुरामले भने: मेरो पनि योगदान छ, हक लाग्छ
काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टाराईले अहिलेको सत्ता गठबन्धन बनाउन आफूहरूले पनि योगदान दिएको बताएका छन् ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा भट्टराईले यस्तो बताएका हुन् । देउवा र भट्टराईबीच गठबन्धनमा सामेल हुनेबारे भएको छलफल पनि सकारात्मक भएको बताइएको छ ।
मंगलबार अपरान्ह भएको भेटवार्तामा भट्टराईको नयाँ पार्टीलाई गठबन्धनमा सहभागी गराउन आफू सकारात्मक भएको देउवाले बताएका थिए ।
भेटमा भट्टराईले आफैंले बनाएको गठबन्धन छाड्ने चाहना नभएको बताएका थिए ।
भट्टराईले अर्का अध्यक्ष महिन्द्र राय यादवसमेतलाई लिएर बालुवाटार पुगेका थिए । उनीहरूले चुनावी गठबन्धनकै बारेमा छलफल गरेको नेसपाका नेताले बताएका छन् ।
भेटमा देउवाले आफूले पनि त्यही विषयमा सोचिरहेको र गठबन्धनमा नेसपालाई पनि सहभागी गराएर जाने सोच भएको बताएका थिए । प्रधानमन्त्री देउवाले आफू सकारात्मक भएको बताउँदै एकपटक अन्य गठबन्धनका दलहरुसँग पनि सल्लाह गरेर खबर गर्ने बताएका थिए।
जवाफमा भट्टराईले यो गठबन्धन बनाउन आफ्नो पनि ठूलो भूमिका भएकोले यो गठबन्धनमा आफ्नो पनि हकदाबी लाग्न बताए ।
उनीहरुबीचको कुराकानी सकारात्मक भएको र केही दिनपछि फेरि छलफल गरेर निष्कर्षमा पुग्ने बताइएको छ ।