देशभर तीन लाख नक्कली सवारी चालक ! - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

देशभर तीन लाख नक्कली सवारी चालक !



नवलपरासी  ।  नेपालमा चल्ने सवारी साधनका चालकमध्ये ३ लाख नक्कली भएको अनुमान गरिएको छ। यातायात व्यवस्था विभागमा दर्ता भएको सवारी साधन र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिएका चालक संख्याको आधारमा उक्त अनुमान गरिएको हो।

हरेक वर्ष दुर्घटनाबाट मृत्यु हुने सर्वसाधारणको संख्या बढ्दै गएपछि त्यसको कारण खोजेर प्रतिवेदन पेस गर्न सरकारले गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकेको संयोजकत्वमा ५ सदस्यीय टोली खटाएको छ। टोलीले विभिन्न जिल्लामा पुगेर सरोकारवालसँग सुझाव संकलन गरिरहेको छ।

सुझाव संकलन गर्न परासी पुगेका टोलीले चालककै कारण बढी दुर्घटना हुने गरेको जनाएको छ। यातायात व्यवस्था विभागको तथ्यांक प्रस्तुत गर्दै टोली संयोजक एवं गृह मन्त्रालयका सहसविच विकेले भने, ‘राजमार्ग र सहायक राजमार्गमा २८ लाख गाडी गुड्छन्।

लाइसेन्स २५ लाखले मात्र लिएको पाइएको छ।’ सरकारले सहजरुपमा व्यवस्थापन गर्न नसक्दा नक्कली लाइसेन्स लिएर गाडी चलाउने संख्या बढ्दै गएको सहसचिव विकेको भनाइ छ। नेपालमा चल्ने सवारी साधनमध्ये ९० प्रतिशत साना छन्।

२ लाख हाराहारीमा बस, ट्रक र माइक्रोबस रहेको यातायात विभागको तथ्यांकमा छ। लाइसेन्सबिना गाडी चलाउनेको संख्या अधिक रहेको यातायात व्यवसायीले पनि स्वीकारेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । फाइल तस्बिर :-