‘देश सम्झेर खेल्नेछु’ - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

‘देश सम्झेर खेल्नेछु’



काठमाडौं   । तीन वर्ष अघिसम्म पनि सन्दीप लामिछाने नेपाली क्रिकेटमा आइसकेका थिएनन्। भारतमा साथीभाइसँग रमाइलोका लागि क्रिकेट खेलेका उनी चितवनमा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राजु खड्काको एकेडेमीसम्म अभ्यासका लागि आइपुगेका थिए। युवा क्रिकेट प्रतिभा खोज्दै हिँडेका राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेको नजरमा परेसँगै उनी एक प्राइभेट एकेडेमीबाट जुन गतिमा सीधै बन्द प्रशिक्षण हुँदै राष्ट्रिय टोलीसम्म पुगे, सफलताको दृष्टिकोणबाट त्योभन्दा पनि द्रुत गतिमा अगाडि बढ्दै अहिलेको स्थितिसम्म आइपुगेका हुन्।

नेपाली क्रिकेटमा प्रवेश गरेको तीन वर्षभन्दा पनि कम अवधिमा उनी यू-१९ र सिनियर राष्ट्रिय टोलीमा त पुगे नै, सँगसँगै विश्वकै चर्चित फ्रान्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा समेत अनुबन्ध जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भए। उनले यही समयमा यू-१९ विश्वकपमा ह्याट्रिक विकेट मात्रै लिएनन्, पूर्वअस्ट्रेलियन क्रिकेटर सेन वार्नकै उपनाम पनि पाए। अस्टे«लियन पूर्वकप्तान माइकल क्लार्कको प्रिय खेलाडी बनेका उनले अस्टे«लियामा अभ्यासको अवसर पनि पाए।

छोटो अवधिमा यी १७ वर्षीय लेग स्पिनरले प्राप्त गरेको सफलता कथाजस्तै छ। यो सफलता सन्दीप आफैंलाई भने कस्तो लागेको होला ? ‘सधैं मेहनत गर्नुपर्छ भन्ने कुरा सिकेँ। त्यसले सधैं राम्रो गर्ने प्रेरणा मिलिरह्यो’, सोमबार उनी आफैंले आयोजना गरेको पत्रकार सम्मेलनमा सन्दीपले भने, ‘यो अवस्थासम्म आइपुग्नुको श्रेय म यू-१९ र सिनियर टोलीका सबै खेलाडी, टोलीका प्रशिक्षक र म्यानेजर सबैलाई दिन चाहन्छु।’

सन्दीपले आईपीएल खेल्ने समाचारले जति खुसी उनलाई दिएको छ, त्योभन्दा बढी खुसी उनका समर्थकलाई दिएको छ। अबको झन्डै डेढ महिना नेपाली समर्थकको मन मस्तिष्कमा आईपीएल छाउनेछ। पक्कै पनि समर्थकको आँखाले टेलिभिजनको पर्दामा सन्दीपले क्रिकेट खेलिरहेको दृश्य खोज्नेछ। सन्दीप आफैं पनि आईपीएल खेल्ने समाचारले निकै उत्साही छन्। ‘आईपीएल खेल्न जाँदै छु। मैले प्लेइङ-११ मा अवसर पाउने वा नपाउने कुरा बन्द प्रशिक्षणमा पनि भर पर्नेछ र त्यो पूर्ण रूपमा प्रशिक्षक र कप्तानको निर्णयको कुरा हो’, उनी भन्छन्, ‘यद्यपि प्रतियोगिताअघि निकै उत्साही छु।’

दिल्ली डेयरडेभिल्ससँग अनुबन्ध भएका सन्दीपले आईपीएल खेल्न मंगलबार भारततर्फ प्रस्थान गर्नुअघि नेपाली मिडियालाई आफ्नाबारे जिज्ञासा राख्ने अवसर दिए। कार्यक्रममा उनी केही आत्मविश्वासी पनि देखिए। हजारैाँ नेपाली क्रिकेट समर्थकको चाहना बुझेका उनले आईपीएलमा आफ्नो टोलीबाट अवसर पाएमा राष्ट्रलाई सम्झेर प्रतिस्पर्धा गर्ने बताए।

‘आईपीएलमा गत वर्ष रासिद खानसँग जसरी अफगानिस्तानको भविष्य जोडिएको थियो, यसपटक मेरो कथा पनि त्यस्तै हो’, सन्दीपले भने, ‘अवसर पाएमा देशलाई सम्झेर खेल्नेछु। नेपाली क्रिकेटको भविष्यलाई सम्झेर खेल्नेछु।’

उनले आईपीएलमा मैदानमा उत्रन नपाए पनि आईपीएल टोलीसँग बन्द प्रशिक्षणमा सहभागी हुनु नै महŒवपूर्ण हुने उल्लेख गरे। ‘अहिलेसम्म दिल्लीको व्यवस्थापनबाट निकै खुसी छु। उहाँहरूको व्यवहारले गर्दा घुलमिल हुन सहज भइरहेको छ’, सन्दीप भन्छन्, ‘अनुभवी प्रशिक्षण टोली र खेलाडीसँग बन्द प्रशिक्षण र ड्रेसिङ रुममा समय बिताउन पाउनु पनि हाम्रा लागि महत्वपूर्ण हुनेछ। लेग स्पिनर भएको नाताले भारतीय क्रिकेटकै अनुभवी लेग स्पिनर अमित मि श्रासँगै रहेर सिक्न पाउनु पनि हाम्रा लागि ठूलो कुरा हो।’

अप्रिल ७ बाट सुरु हुने आईपीएलको तयारीका लागि सन्दीप मंगलबार दिल्ली प्रस्थान गर्दैछन्। दिल्लीमा सुरुका दुई दिन फोटो सुट र मेडिकल टेस्टमा बिताउने सन्दीपले २९÷३० तारिखबाट भने प्रतियोगिताको तयारी सुरु गर्नेछन्। सन्दीपलाई दिल्लीले २० लाख भारुमा अनुबन्ध गरेको हो। आईपीएलमा जुनसुकै टोलीबाट खेल्ने अवसर पाउनु पनि महŒवपूर्ण भएको बताउने सन्दीपको भित्री चाहना भने मुम्बई इन्डियन्सबाट खेल्न पाए हुन्थ्यो भन्ने थियो। यसअघि उनी आफंै पनि मुम्बईका समर्थक थिए। तर, यति बेला उनी दिल्लीबाट खेल्न पाउँदा पनि खुसी छन्। दिल्लीबाट खेल्दा आफूले गर्ने मेहनतमा कुनै पनि कारणले कमी नआउने उनी बताउँछन्। अन्नपूर्ण पोस्ट बाट