केपी ओली कुरीकुरी, धेरै भयो चुरीफुरी भन्दै सडकमा उत्रियो नेविसंघ - Himal Post Himal Post
  • ९ श्रावण २०८१, बुधबार
  •      Wed Jul 24 2024
Logo

केपी ओली कुरीकुरी, धेरै भयो चुरीफुरी भन्दै सडकमा उत्रियो नेविसंघ



काठमाडौं । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले देशरक्षाका लागि उत्रिएको बताएको छ ।

भारतीय सांसद कीर्ति आजादले प्रदेश नम्बर २ जनकपुरलाई भारतले दुई सय वर्षका लागि दिएको र त्यो समय सकिएकाले अब भारतमै गाभ्नुपर्ने भन्दै विवादित भाषण गरेपछि कार्वाहीको माग गर्दै नेविसंघ सडकमा उत्रिएको हो ।

मंगलबार बिहान राजधानीको त्रिचन्द्र क्याम्पस अगाडि चक्काजाम, जुलुस र र्याली गर्दै नेविसंघले अब देश रक्षाका लागि नेविसंघ मैदानमा उत्रिएको बताएको हो ।

सभालाई संवोधन गर्दै नेविसंघका महामन्त्री कुन्दन काफ्लेले आजादको भनाइ सार्वसत्ता सम्पन्न राष्ट्रमाथिको प्रहार हो भन्दै कार्वाही गर्नुपर्ने माग गरे । उनले भारतीय जनता पार्टीले पनि आजादलाई कार्वाही गर्न माग गर्दै नेपाल सरकारलाई कुटनीतिक तवरबाट कार्वाहीका लागि दवाव दिन माग गरे ।

काफ्लेले घटनाको घोर भर्सना गर्दै अब कसैले देशको सार्वभौममाथि आँच आउने कदम चाल्छ भने त्यसलाई नछाडिने बताएका छन् ।

उनले नेपालको स्वतन्त्रतामाथि आँखा लगाउनेलाई खवरदारीसमेत गरेका छन् ।

नेविसंघले आजादलाई कार्वाही गर्न नेपाल सरकारले भारत सरकारलाई कुटनितिक दवाब दिनु पर्ने मुख्य माग राखेर मंगलबार दिउँसो २ बजे भारतीय दूतावास लैनचौरमा धर्ना दिने समेत जनाएको छ ।

राष्ट्रियता, प्रजातन्त्रमाथि धावा बोल्ने काम नगर्न भन्दै उनीहरुले प्रधानमन्त्री ओलीविरुद्ध ‘केपी ओली कुरीकुरी, धेरै भयो चुरीफुरी,’ ‘नक्कली राष्ट्रवाद मूर्दावाद ‘ लगायत चर्का नाराबाजी समेत गरेका थिए।

यता, त्रिचन्द्रमा सडकमै विद्यार्थी उत्रदा ट्राफिक व्यवस्था केही बिग्रिए पनि कुनै समस्या भने नपरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारीको व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।