कमल थापाले भने देशमा हिन्दू राष्ट्र र संवैधानीक राजसंस्थाको औचित्य झन बढेर गयो - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

कमल थापाले भने देशमा हिन्दू राष्ट्र र संवैधानीक राजसंस्थाको औचित्य झन बढेर गयो



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवाहरु संगठित भएर अगाडि बढेमा पार्टीले लिएको एजेण्डा अवश्य स्थापित हुने बताएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आयोजना गरेको ‘वर्तमान सन्दर्भ, पार्टीको अवस्था र युवाहरुको भूमिका’ विषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०६२ -०६३ पछि परिवर्तनको नाममा परम्परागत मूल्य र मान्यतालाई विस्थापित गरेर परिवर्तनका पक्षधर भनाउने दलहरुले विकृति र विसंगतिलाई संस्थागत गराउन खोजेकोले मुलुकले दुर्भाग्य भोग्नुपरेको स्पष्ट पारे । नेपालको विकासको लागि त्रिभुवन, महेन्द्र तथा वीरेन्द्रको योगदानको स्मरण गर्दै अध्यक्ष थापाले विदेशीको दानापानीमा विकसित भएका परिवर्तनका पक्षधरहरु उनीहरुकै चाहना अनुरुप चल्ने परिपाटीले मुलुक कहिल्यै अघि बढ्न नसक्ने जिकिर गरे।

तत्कालिन अवस्थामा स्थापना भएका उद्योग धन्दाहरु कहिले जनयुद्धका निहुँमा त कहिले ठूला पार्टीहरुले आफ्नो अभिष्ठ पुरा गर्ने नाममा ध्वस्त बनाएर वार्षिक पाँच लाख ४७ हजार युवा पिंडीलाई सानो रोजगारको लागि जबर्जस्ती खाडीतर्फ धकेलीएकोले मुलुकमै उद्योगधन्दाहरु स्थापित गरि युवाहरुलाई विदेश पलायनबाट रोक्न देशमा हिन्दू राष्ट्र र संवैधानीक राजसंथाको औचित्य झन बढेर गएको उनले बताए ।

पार्टीले अवलम्वन गरेको संवैधानीक राजसंस्था र हिन्दूराष्ट्रको एजेण्डालाई स्थापित गर्न युवाहरुको महत्वपूर्ण भूमिका रहेकोले संगठन विस्तारमा जुट्न युवाहरुलाई आग्रह गर्दै अध्यक्ष थापाले मुलुकको निकासको अन्तिम विकल्प हिन्दुराष्ट्र र राजसंस्था मात्र भएको ठोकुवा गरे।

राप्रयुसंका केन्द्रीय अध्यक्ष प्रकाश रिमालको सभापतित्वमा सम्पन्न सो विचार गोष्ठिमा पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता भुवन पाठक, राप्रयुसंका उपाध्यक्ष ऋषिराज देवकोटा, प्रवक्ता सुजित के.सी., युवा नेता डम्बर तामाङ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंह लगायतले मुलुकको राजनीतिमा युवाहरुको भूमिकाबारे मन्तव्य राखेका थिए ।