देश लुट्नकै लागि राजतन्त्र फालिएको त होइन ? - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

देश लुट्नकै लागि राजतन्त्र फालिएको त होइन ?



-कर्ण अधिकारी-

गतिशील अनि परिवर्तित समयको चालसँगै मानिसका भावना पनि व्यक्तिगत स्वतन्त्रतका लागि तरङ्गित भएर छचल्कीरहँदा नेपालमा १०४ वर्षको जहानीया राणा शासकहरूको अन्त्य गरी नेपाली जनताका छोराछोरीले नै प्रजातन्त्र ल्याएका थिए ।

प्रजातन्त्र ल्याएपछि जनताले थोरै स्वतन्त्रता पाएको आभास हुन नपाउँदै २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र माथि “कु”गरी पञ्चायती व्यवस्था लागु गरे । यसलाई पनि नेपाली जनताले सहर्ष स्विकार्न गर्न बाध्य थिए । ३० वर्षीय पञ्चायती व्यवस्थाबाट पनि जनता वाक्क दिक्क भएर हकहित र स्वतन्त्रताका लागि भन्दै २०४६ सालमा जनआन्दोलनद्वारा बहुदलीय व्यवस्था ल्याउन सफल भए ।

बहुदल आए पश्चात् जनता बढी स्वतन्त्र हुँदै गए। वाक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता र धार्मिक स्वतन्त्रताको नाममा सबै नेपाली जनतालाई समान बनाउने र सर्वहारा जनताको हितका लागि भन्दै माओवादी जनयुद्धका नायक द्वय प्रचण्ड र बाबुरामले १० बर्से जनयुद्धको सुरुवात गरीदिए । जसको परिणाम १७ हजार नेपाली जनताले ज्यान गुमाउनुका साथै कयौँ बेपत्ता, घाइते र घरबार विहीन बन्न पुगे । जनताले आफ्नै देशमा पनि शरणार्थी जीवन व्यतीत गर्नु पर्‍यो । दश बर्से जनयुद्ध अन्त्य गर्ने भन्दै माओवादी शान्ति वार्तामा जतिबेला आयो त्यतिबेला राजतन्त्रको लोकप्रियता घटेको थियो ।कारण २०५९ सालमा राजा ज्ञानेन्द्रको “कु” । माओवादी शान्ति वार्तामा आउँदा राजतन्त्र फाल्ने कुनै एजेन्डा थिएन तरपनि गिरिजाबाबुले २०५९ मा राजा ज्ञानेन्द्रको “कु” सम्झेर माओवादी लगायतका ७ राजनीति पार्टीहरूसँग सहकार्य गरी २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनमा राजा फाल्ने भन्दै १९ दिने आन्दोलनमा होमिए ।

जसको परिणाम २३७ वर्षीय राजतन्त्रको अन्त्य हुँदै लोकतन्त्र स्थापना भयो। राजा ज्ञानेन्द्रले सत्ता सजिलै राजनीतिक दलहरूलाई हस्तान्तरण गरी दरबार छोडीदिए । जब लोकतन्त्र स्थापना भयो ततपश्चात् नेपालमा राष्ट्रपतीय प्रणाली लागु भयो । रातारात देशै उथलपुथल होला भन्ने सोच भएकाहरूले व्यवस्था फेरिए पनि व्यवहार नफेरिएको पाएपछि जनताको छोराछोरीबाटै शासन गर्न पाइयो भन्दै १० हात माथि उफ्रिनेहरू जब राष्ट्रपति राजा भन्दा पनि माथि भए त्यस पछि पुर्पुरोमा हात लगाएर राजतन्त्र नै ठिक छ भन्ने पक्षमा पुगे।

राजाबिनाको देशको शासकीय प्रणालीमा बिस्तारै वैदेशिक हस्तक्षेप चरम रूपमा भएको हामीले पायौ । “मीओ बिनाको दाँई” भनेझैँ विदेशी दलालहरूले नेपालमाथि परेड खेलीरहँदा अभिभावक बिनाको टुहुरो बच्चा झैँ अनुभूत हुँदै गयो नेपाली जनतालाई, त्यो अझै पनि कायम नै छ । नेपालमा त्यसै राजतन्त्रको अन्त्य गरेका रहेनछन यी राजनीतिक दलका झण्डाको आडमा रमाउनेहरूले ।कारण राजा हुँदा देश लुट्न नपाएकाहरूले नै राजा हटाएर देश लुट्न पाइन्छ भनेर कदम चालेका रहेछन । राजाले २३७ वर्षमा नलुटेको देश नेताहरूले आज १४/१५ वर्षमै सुटेर सखाप पारीदिए।

नेपाली जनताको आर्थिक हैसियत मजबुत हुँदै जानु पर्नेमा महँगी भ्रष्ट्राचार बढ्नुले गरिबी बढ्दो छ। देश लुट्ने लुटेराहरूलाई जनताको कुनै चिन्ता छैन । विदेशिएका ६० लाख नेपाली युवाहरूको रेमिट्यान्सले धानेको देश, वर्तमान अवस्थामा कोभिड १९ कोरोना भाइरसका कारण रेमिट्यान्स नभित्रिए पश्चात् देशको आर्थिक दर दिनानु दिन उँधो गतितिर लागि रहेको छ। सरकारले आफ्ना मातहतका व्यक्तिहरूलाई मात्र टेन्डर पार्ने हुनाले आज १० को माल १०० पर्ने अवस्था छ । कमिसन खोरहरूले देशको आर्थिक ढुकुटी रित्याउँदैछन् । जसरी हुन्छ आफ्नो पेट भर्ने भन्ने धुनमा व्यस्त छन्। आज नेपाली जनता भने खान नपाएर छटपटी रहेका छन् ।

म नेपाली काँग्रेसको क्रियाशील सदस्य भएतापनि आज सङ्घीय गणतान्त्रिक नेपालको विरोध गरी राजतन्त्रको पक्षमा वकालत गरीरहँदा कयौँ साथीभाइहरूले अनौठो मानी रहेकाछन् । यसमा अनौठो मान्नु पर्ने कुनै कुरा देख्दिन म । देशमा लोकतन्त्र पनि आयो गणतन्त्र पनि आयो ७ प्रदेश पनि भयो । शक्ति विकेन्द्रीकरण पनि भयो ७७ जिल्ला पनि बन्यो तर परिवर्तन के भयो त ? एउटा राजाको साटोमा यहाँ सयौँ छोटे महाराजाहरू जन्मिए। शक्ति बिकेन्द्रिकरण र सिंहदरबार गाउँगाउँमा पुराउने भन्दै देशको अर्थतन्त्र नै तहसनहस बनाए । देशको कानुन नेता र भ्रष्टाचारी हातमा पुग्यो । नेता र मन्त्रीका झोला बोक्नेहरू सबै महाराज बने । जनतालाई झुट्ठो आश्वासन दिएर रेल र पानीजहाज कुदाउँछु भन्नेहरूले जनताको भावनालाई घाममा सुकाईदिए। अब तपाई नै भन्नुहोस नेपाली जनतालाई अहिलेको व्यवस्था ठिक छ त ? त्यसकारण यसका विरुद्धमा उभिएर राजतन्त्रको पक्षमा उभिएको हुँ । भलै कति काँग्रेसीहरूलाई मेरो बिचार मन नपर्न सक्ला तर यो मेरो व्यक्तिगत बिचार हो ।

काँग्रेसको इतिहासलाई अवलोकन नै गर्ने हो भने काँग्रेस राजतन्त्र सहितको प्रजातन्त्रकै पक्षमा थियो तर गिरिजाबाबुले घाँस खानाले काँग्रेस राजा सहितको प्रजातन्त्रको धारबाट नभई कम्युनिष्टहरूसंग काँध मिलाउनाले बिपीको नीतिलाई बिर्सिन पुग्यो । आज काँग्रेस भित्र बिपीवाद मरीसकेको छ । तर काँग्रेसभित्र मरे पनि बिपीको नीति र सिद्धान्तलाई अवलम्बन गर्ने म जस्ता लाखौँ काँग्रेसीको मनभित्र बिपीवाद अझै ताजा छ। अब हामीले बिपीको आदर्श र नीतिलाई विचलित हुन दिनुहुन्न । बिपी २०३३ साल पौष १६ गते राष्ट्रिय मेल मिलापको नीति लिएर नै स्वदेश फर्किएका थिए। बीपीले हामीलाई छाडेको ३७ वर्ष र भारत निर्वासनबाट फर्केको ४४ वर्ष भइसकेपनि राष्ट्रिय मेलमिलापको नीतिको औचित्य झन् बढ्दै गएको छ ।

बिपीको सिद्धान्तको कुरा गर्ने हो भने धार्मिक स्वतन्त्रता पनि हो तर नेपालमा धर्मको नाममा विदेशी चलखेल बढी भएका कारण सनातन हिन्दुराष्ट्र नेपाल आजको आवश्यकता हो । हिन्दु धर्मले कसैलाई भेदभाव गर्दैन । तसर्थ आज देशमा राजा सहितको प्रजातन्त्रको आवश्यकता भई सकेको छ। बेलायत र थाइल्यान्डमा राजतन्त्र फर्किन सम्भव भयो भने नेपालमा नफर्किने भन्ने कुरै हुँदैन । अब एक मात्र विकल्प राजा आऊ देश बचाउ भन्ने मात्र हो । जय देश ।

(यो विचार लेखेकको निजि विचार हो, सम्पादक तथा हिमालपोस्ट जवाफदेही छैन)

-लेखक अधिकारी नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सचिव हुन् ।