देशभरका प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकले बुझाए ज्ञापनपत्र - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

देशभरका प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकले बुझाए ज्ञापनपत्र



गोविन्द बीसी / कैलाली ।
प्रारम्भिक बाल विकास केन्द्र (इसिडि) मा कार्यरत शिक्षकले देशभरिका शिक्षा बिकास तथा समन्वय इकाई कार्यालयमा बिहीबार ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल बाल विकास शिक्षक केन्द्रिय समितिको निर्णय अनुसार विभिन्न पेसागत सात बुदे माग राख्दै ज्ञापन पत्र बुझाइएको जनाएको छ ।

संघर्षका कार्यक्रम अनुसार नेपाल बाल विकास शिक्षक समिति कैलालीले समेत आज ज्ञापन पत्र बुझाएको छ ।
प्रारम्भिक बाल विकास केन्द्र(इसिडि)मा कार्यरत शिक्षकहरुले आफूहरुले कानूनी पहिचान र सुविधा पाउनुपर्ने माग गरेका छन् ।

शिक्षा ऐनको आठौं संशोधनले इसिडिलाई विद्यालयतहमा गाभेपनि त्यसमा कार्यरत शिक्षकहरु भने मासिक ६ हजार न्यून तलवमा काम गर्न बाध्य रहँदै आएका छन् । त्यस्तै, विद्यालय तहमा गाभिएपनि उनीहरुलाई शिक्षक नभनेर सहयोगी कार्यकर्ता मात्रै भनिँदै आएको छ । सरकारले विद्यालय तह मानेपछि त्यसमा कार्यरत आफूहरुलाई शिक्षक भनिनुपर्ने र अन्य शिक्षक सरह सुविधा दिनुपर्ने उनीहरुको माग रहँदै आएको छ ।

नेपाल बाल विकास शिक्षक समिति कैलालीका अध्यक्ष निर्मला तिमिल्सैना, सात नम्बर प्रदेश अध्यक्ष लक्ष्मी भट्ट, प्रदेश सचिव निर्मला गिरी, जिल्ला उपाध्यक्ष गीता रावल कुवर, जिल्ला कोषाध्यक्ष चक्र बयक, जिल्ला सहसचिव पार्बती धमाला लगायतका बाल विकास शिक्षकहरुको उपस्थितिमा कैलालीका शिक्षा विकास तथा समन्वय इकाईका उपसचिव विष्णुदत्त भट्टलाई ज्ञापन पत्र बुझाएका हुन ।

शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा ज्ञापन पत्र बुझाउनु अघि नेपाल बाल विकास शिक्षक समिति कैलालीका अध्यक्ष निर्मला तिमिल्सैनाले बाल विकास शिक्षकका माग र संघर्षका कार्यक्रम पढेर सुनाएकी थिईन ।

उक्त अवसरमा शिक्षा विकास तथा समन्वय इकाई कैलालीका उपसचिव विष्णुदत्त भट्टले बाल विकास शिक्षकका माग सम्बोधनका लागि आफुले पहल गर्ने बताए ।

ज्ञापन पत्रमा प्रारम्भिक बाल विकास केन्द्रमा कार्यरत बाल विकास शिक्षकलाई दरबन्दीमा समावेश गर्नुपर्ने , प्राथमिक तहका शिक्षक सरह सेवा सुबिधा पाउनुपर्ने , बालमैत्री कक्षाकोठाको व्यवस्थापन गर्नुपर्ने लगायतका सात बुदे माग उल्लेख गरिएको छ ।

संघर्षका कार्यक्रम अनुसार बिहीबार (आज) देशभरि जिल्ला शिक्षा विकास समन्वय इकाईमा ज्ञापन पत्र बुझाउने, भाद्र ३ गते ७ वटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्ने , भाद्र ६ गतेदेखि ८ गतेसम्म हातमा कालो पट्टी बाधेर अध्यापन गर्ने, भाद्र १० गते स्थानीय निकायमा २ घण्टा धर्ना लगायतका कार्यक्रम रहेका छन ।

प्रारम्भिक बाल विकास ( इसिडी) मा कार्यरत शिक्षकहरु शिक्षा ऎनको आठौं संशोधनले इसिडिलाई विद्यालय तहमा समायोजन गरेपछि अन्य शिक्षक सरह सेवा सुविधा पाउनु पर्ने माग राखी आन्दोलनमा रहेका छन ।