डेङ्गुबाट कसरी बच्ने ?
–डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
काठमाडौँ, पोखरा, चितवन लगायत देशका अधिकांश ठाउँमा डेङ्गु ज्वरो फैलिएको हुँदा विशेष सतर्क हुन आवश्यक छ ।
डेङ्गुलाई break bone ज्वरो पनि भनिन्छ किनकि यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ ।
मुख्य लक्षणहरू
- अचानक ठूलो ज्वरो आउनु
- आँखाको वरिपरि तथा कन्चटमा धेरै दुख्नु
- सबै शरीर दुख्नु
- घाँटी बस्नु
- साना बिमिरा आउनु
- शरीर चिलाउनु
- वाकवाकी लाग्नु / बान्ता आउनु
- छटपटी हुनु
- रिँगटा लाग्नु
- निद्रा नलाग्नु
- हड्डी तथा मांसपेशी निकै दुख्नु
- आँखा तथा घाँटी रातो हुनु
छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
- ८० % बिरामीमा पहिलो दिनमा, ६० – ८० % बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजेटिभ देखिन्छ ।
- १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ ।
विशेष सतर्कता :
- ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला । आइबुप्रोफेन, अस्पिरि आदिको प्रयोग नगर्नुहोला | आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तस्रावजन्य डेङ्गुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
- बालबालिका, वृद्धवृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू, दीर्घ बिरामीहरूलाई विशेष ख्याल गर्नुपर्दछ ।
- जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल, सुप नियमित खाने
- डेङ्गुको कुनै विशेष औषधि तथा खोप छैन । एन्टिबायोटिकले डेङ्गु निको हुँदैन । चिकित्सकले अर्को सङ्क्रमण नहोस् भन्ने उद्देश्यले सामान्य एन्टिबायोटिक चलाउन सक्छन् । कडा एन्टिबायोटिकको आवश्यकता हुँदैन | तसर्थ जथाभावी एन्टिबायोटिक किनेर प्रयोग गर्नु हुँदैन ।
रोकथाम
- लामखुट्टे भगाउने स्प्रे अथवा लोसन शरीरमा लगाउने
- लाम्बाहुले कपडा लगाउने
- डेङ्गु लाग्ने लामखुट्टे day biter अर्थात् दिनमा टोक्ने भएकोले दिउँसो सुत्दा झुल प्रयोग गर्ने
- भिडभाडमा सकभर नजाने
- घर वरिपरि पानी जम्ने खाल्डो पुर्ने, घरभित्र पानीलाई छोपेर राख्ने, बाथरुम ओभानो राख्ने, टायर / पाइप आदिमा पानी जम्न नदिने
- पानी जमेको ठाउँमा DDT, मालाथिन छर्नु पर्छ । १ चम्चा पेट्रोल राख्न पनि सकिन्छ ।
- माथिका लक्षण देखिएमा तुरुन्त जाँच तथा उपचार गर्ने
-प्यारासिटामोलले ज्वरो नियन्त्रण नभए वा चिकित्सकले दिएको औषधि खाँदा पनि प्रभावकारी नदेखिए अस्पताल भर्ना हुने ।
स्मरण रहोस् – प्राकृतिक खानपिन, नियमित व्यायाम, तनावरहित जीवनशैली तथा स्वास्थ्य रहने उपायहरू अवलम्बन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ ।