दिल्लीमा क्रिसमस र नयाँ वर्ष मनाउन रोक - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

दिल्लीमा क्रिसमस र नयाँ वर्ष मनाउन रोक



काठमाडौ- अघिल्लो वर्षझैं यसपटक पनि भारतको राजधानी नयाँ दिल्लीमा क्रिसमस र नयाँ वर्षका अवसरमा पार्टी र जमघट गर्न नपाइने भएको छ। कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण राज्य सरकारले कडाई गर्न लागेको हो।

कुनै पनि सार्वजनिक स्थलमा क्रिसमस र नयाँ वर्षको पार्टी गर्न नपाइने राज्य सरकारले जनाएको छ। दिल्ली आपद प्रबन्धन प्राधिकरणले सबै जिल्लाका डिएम र डिसीपीलाई निर्णय कार्यान्वयन गराउनका लागि आदेश दिएको छ।

त्यस्तै, पसल र कार्यस्थलमा मास्क लगाउन पनि अनिवार्य गरिएको छ। मास्क नलगाउनेलाई ती स्थानमा प्रवेश निषेध गर्न आदेश दिइएको छ।

दिल्लीमा पछिल्लोपटक कोरोना संक्रमण बढ्दो छ। केही दिनअघिसम्म यहाँ दैनिक ५० जनाभन्दा कममा कोरोना पहिचान भएको थियो। अहिले यो संख्या बढेर १ सय कटेको छ।

मंगलबार दिल्लीमा कोरोनाका १ सय २ जना नयाँ संक्रमित फेला परेका थिए। त्यस्तै, मंगलबार एकजनाको मृत्यु भएको छ। दिल्लीमा यससँगै कुल मृतकको संख्या २५ हजार १ सय २ पुगेको छ।