दिल्लीमा नेपाल लैजाने भन्दै ठग्नेहरू सक्रिय - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

दिल्लीमा नेपाल लैजाने भन्दै ठग्नेहरू सक्रिय



नयाँ दिल्ली- विश्वभर कोरोना सङ्क्रमणको कहर बढिरहेको छ । हरेक देशले आफ्नो किसिमको सावधानी अपनाइरहेका छन् भने नेपालले पनि दुवै देशसँग जोडिएका सबै सीमानाकाहरू बन्द गरेको छ ।

भारतले पनि धेरैजसो जिल्लाहरू लक डाउन गरेको छ । एक स्थानबाट अर्को स्थानमा जान बन्द गरेको अवस्था छ । उत्तर प्रदेशमा पनि एउटा विभिन्न जिल्ला बन्द भएका कारण कुनै पनि सवारी साधन दिल्ली देखी सिधा अन्य जिल्लामा प्रवेश रोक लगाइएको छ ।

यस्तै कतिपय नेपालीहरू भारतका विभिन्न स्थानमा अलपत्र परेको खबर आइरहेका बेला नयाँ दिल्ली लगायतका स्थानमा केही नेपाली मूलका टुर एण्ड ट्राभल व्यवसायीहरूले भने नेपालीहरूलाई भ्रममा पारी पैसा उठाउने गरेको गुनासो आइरहेको छ ।

नेपाल भारत सीमा पूर्ण रूपमा बन्द गरिएको छ । सीमा पूर्ण बन्द हुनु भनेको आवतजावत पनि बन्द हुनु हो तर हिँडेर सीमा पारी जान सकिन्छ भन्ने भ्रम फैलाइएको पनि बुझिएको छ । यस्तो भ्रम सत्य होइन ।

ती टुर एण्ड ट्राभल व्यवसायीहरूले नेपाल लैजाने भनी यात्रुहरूलाई भ्रम सृजना गरी अर्को ठाउँमा लगेर अलपत्र पारेको समेत गुनासो आउन थालेको छ । नाकाहरूमा सेटीङ्ग मिलाएर नेपाल पुराउने भन्दै अफवाह फैलाएको र नेपालीहरू भ्रममा परेको गुनासो आएपछि दिल्लीस्थित दूतावासले पनि अपिल जारी गरिसकेको छ।

दूतावासले जारी गरेको अपिलमा घर बाहिर ननिस्कन र आफू सुरक्षित रहन अपिल गरेको छ । दूतावासले बिच बाटोमा अलपत्र परेकालाई उदार गरिरहेको जनाइएको छ । जसमा अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठान भारतका संयोजक सन्दिप राना र अखिल भारत नेपाल एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले सहयोग गरिरहेका छन् ।