भारतमा तिब्र फैलियो ओमिक्रोन: दिल्लीमा आंशिक लकडाउन - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

भारतमा तिब्र फैलियो ओमिक्रोन: दिल्लीमा आंशिक लकडाउन



कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट भारतको एक युनियन टेरिटरीसहित १६ वटा राज्यमा फैलिएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ ओमिक्रोन भेरियन्ट हालसम्म दिल्लीसहित १५ वटा राज्य एवं एक युनियन टेरिटरीमा फैलिएको हो ।

भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २३६ पुगेको छ । यसमध्ये १०४ जना निको वा अन्यत्र गइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ओमिक्रोनका सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा छन् । त्यहाँ हालसम्म ६५ जनामा ओमिक्रोन पुष्टि भएको छ । ओमिक्रोनका संक्रमित धेरै हुने दोस्रो स्थानमा दिल्ली रहेको छ । दिल्लीमा बिहीबारसम्म ६४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ ।

त्यस्तै, तेलाङ्गानामा २४, कर्नाटकमा १९, राजस्थानमा २१ र केरलमा १५ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ ६ः३० बजे ओमिक्रोन भेरियन्टका सम्बन्धमा समीक्षा बैठक बोलाएको एएनआईले जनाएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले समेत आजै उच्चस्तरीय बैठक डाकेका छन् । उक्त बैठकमा कोभिड-१९ का बिरामीको होम आइसोलेशनलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल भइरहेको भारतीय समाचारमा माध्यमले जनाएका छन् ।

कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित बढ्न थालेपछि दिल्ली सरकारले क्रिसमस र नयाँ वर्ष मनाउन हुने जमघट एवं गतिविधिमाथि प्रतिबन्ध लगाइसकेको छ ।

दिल्लीको विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले बुधबार एक आदेश जारी गर्दै डिस्ट्रिक्ट म्याजिस्ट्रेट (डीएम) लाई सबै प्रकारका साँस्कृतिक कार्यक्रम र जमघटमाथि बन्देज लगाएको हो ।

जिल्लास्तरीय प्रशासनिक अधिकारी एवम् दिल्ली प्रहरीलाई उक्त आदेश पालना गर्न भनिएको छ । व्यावसायिक संगठनलाई समेत मास्क नलगाएका मानिसलाई प्रवेशमाथि रोक लगाउन भनिएको छ ।