दिल्लीमा 'स्वास्थ्य संकटकाल’ घोषणा, मंगलबारसम्म सबै स्कुल बन्द - Himal Post Himal Post
  • ४ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 16 2026
Logo

दिल्लीमा ‘स्वास्थ्य संकटकाल’ घोषणा, मंगलबारसम्म सबै स्कुल बन्द



काठमाडौं- भारतको नयाँदिल्लीमा प्रदूषणको स्तर निकै बढेपछि ‘स्वास्थ्य संकटकाल’ घोषणा गरिएको छ। दिल्ली सरकारले सबै स्कुल ५ नोभेम्बरसम्म बन्द गर्न निर्देशन दिएको छ भने सबै स्कुलमा मास्क बाँडिएको छ।

यस्तै, सोमबारदेखि दिल्लीमा जोर–बिजोर प्रणालीमा सवारी साधन चल्नेछन् । जोर दिनमा जोर नम्बरका र बिजोर दिनमा बिजोर नम्बरमा गाडी चल्ने र यो नियम १५ नोभेम्बरसम्म लागू हुने जनाइएको छ। यसले पनि प्रदूषणको स्तरमा केही सुधार आउने अपेक्षा दिल्ली सरकारले लिएको छ।

दिपावलीपछि दिल्लीमा वायुको गुणस्तर निकै खराब स्तरमा पुगेको छ । मानिसहरुलाई सास लिन कठिनाइ भइरहेको छ भने अस्पतालहरूमा बिरामीको संख्या दिनहुँ बढिरहेको छ। दिल्लीको हावामा प्रदूषणको खतरनाक कणको स्तर विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा २० गुणा बढि रहेको बताइएको छ।

दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले पनि प्रदूषणका कारण दिल्ली ‘ग्यास च्याम्बर’ मा परिणत भएको बताएका छन्। उनले दिल्लीबासीका लागि मास्क बाँड्न सुरु गरिएको र एक साताभित्रै ५० लाख मास्क बाँडिने बताएका छन्।

हावाको गुणस्तरमा आएको गम्भीर गिरावटलाई दृष्टिगत गर्दै सर्वोच्च अदालतले दिल्लीका साथै छिमेकी राज्यमा पनि कयौं प्रतिबन्ध लगाउने आदेश दिएको छ। पर्यावरण प्रदूषण (रोकथाम तथा नियन्त्रण) प्राधिकरणले ५ नोभेम्बरसम्म निर्माण कार्यमा पनि रोक लगाएको छ।