धनगढीबाट देह व्यापारमा संलग्न ७ जना पक्राउ - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

धनगढीबाट देह व्यापारमा संलग्न ७ जना पक्राउ



कैलाली । कैलालीको धनगढीका दुई होटेलबाट देह व्यापारमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उप–महानगरपालिका वडा नं. ५ हसनपुर स्थित विकास होटल र वडा नं ३ मा रहेको होटल रोयल प्लेसमा यौन व्यापार गराउने कार्यमा संलग्न रहेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, रक्षपुरम मेरठका मिलिङ्गी त्यागी, विश्वदीप त्यागी, अभिषेक सिनसिनवार, धनगढीका सदानन्द राना, रामशरण राना र सन्तबहादुर थापा, कञ्चनपुर बेलौरीका अक्षय राना रहेको जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

होटलमा देहव्यापार हुने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । शनिबार राति उनीहरुलाई पक्राउ गरिएकामा प्रहरीले सोमबार मात्र घटना सार्वजनिक गरेको हो । पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसार पसारमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।