डायरी भित्रको प्रेम - Himal Post Himal Post
  • २४ मंसिर २०८१, सोमबार
  •      Mon Dec 9 2024
Logo

डायरी भित्रको प्रेम



– शुष्मा पन्त

न्यु योर्क चिसो मौसम। बाहिर हिऊले सेताम्मे गराएको थियो । चिसोले होला मैले काम गर्ने स्टोर पनि सुनसान थियो। छोटा कपडामा सझिन मन पराउने जुलिया पनि तल देखि माथि सम्म लंग कोटमा आएकी थिई। ग्राहकको प्रखाईमा ७-८ घण्टा बिताउनु पट्यार लाग्दो भइरहेको थियो। सिसी क्यामेराले नभेट्ने ठाउँमा पुगेर फेसबुक बाट केही बेर समय काट्ने निधो गरे।अस्ट्रेलियाका साथीहरू समुद्री तटहमा पुगेर बिकिनीमा फोटो पोस्ट गर्दै थिए। मलाई भने भित्र बाट बाहिर सम्म लगाएको ३-४ थान लुगाले पनि लगलग कमाई रहेको थियो। त्यति नै बेला सुगम फेसबुक लाईभमा गएको नोटिफिकेसन आयो। क्याप्सनमा लेखिएको थियो ” प्रमिलको विवाहमा रमाइलो गर्दै।”

केही बेर अगाडी सम्म चिसो भएको शरीरमा चिट चिट पसिना आयो। मन पनि भारी भयो। तै पनि भिडियो हेर्दै गए। कुनै दिन मसँगै भएको मान्छे , आज मण्डपमा अरू नै कोहीसँग अग्नि साक्षी राखेर सबैको अगाडी फेरा लगाउँदै थियो। पण्डितले मन्त्र उच्चारण गर्दै थिए। प्रमिल दुलाहाको कपडामा साचिकै राम्रो देखिएको थियो। ढाकाको दौरा सुर्बाल अनि टोपी त्यस माथि आँखामा लगाएको गाजल सबैलाई मोहित पार्ने थियो। कुनै दिन मैले पनि उसलाई जिस्काउदै गाजल लगाई दिएकी थिए। त्यति बेला ऊ झर्किएको थियो। मैले सम्झाउँदै मायालु स्वरमा भनेकी थिए ” बेबी कसैले तिमीलाई आँखा नलागोस भनेर पो लगाई दिएको त !”

ती सबै दृश्य मेरो आँखा अगाडी देखे पछि चिसो मौसममा पनि मन भित्र जलिरहेको थियो। काममा बस्न सक्छु जस्तो लागेन। अनि म्यानेजरलाई सन्चो नभएको बताए। घरमा पुगे। ढोका बाट भित्र छिर्दा उसले नै किनेको एकोरियममा माछाहरू तल माथि गर्दै खेल्दै थिए। भक्कानो छोडेर रोए। मसँग रुनु बाहेक केही पनि थिएन। उसले छोडेर गए पनि ,घर भने उसकै यादहरूले भरिएको थियो। आफूलाई समाल्दै फेसबुक म्यासेन्जर खोले त्यहाँ पनि उसैसँग गरेका संवादहरू मात्र थिए।

बाहिर र मेरो मन भित्र दुवै चिसो थियो । कुनै जाँगर थिएन। मन र शरीर दुवै शिथिल भएका थिए। मलाई पहिले नै थाहा थियो उसलाई मैले प्रेम गरे पनि उसले मेरो सिउँदो रगाउने छैन भनेर। म यस्तो प्रेमी थिए , प्रेम र सम्बन्ध फरक हुन् भनेर सोच्ने गर्थे। सम्बन्ध, विवाह एउटा स्वार्थ भरिएको साइनो हो जस्तो सोचेथे। तर आज मेरो मन भन्दा दिमाग चल्दै थियो। मनमा विरोधाभास चल्दै थियो। मैले प्रेम गर्छु भने सम्बन्ध आवश्यक छैन भनेर सोच्ने दिमागले किन उसले यो सबै गर्‍यो भनेर प्रश्न गर्दै थियो।

एक्लो बसाई आफूलाई समाल्न गाह्रो थियो। धेरै साथीहरूलाई सम्झाउने खप्पिस म , आज आफैलाई बुझाउन सकेकी थिइन । अनि सोचे आज प्रेमको नशामा केही रक्सीको नशा पनि थपिदिन्छु। वाईनको प्रख्यात ठाउँ स्विजरल्याण्ड बाट साथीले पठाएको धेरै वर्षको पुरानो वाइन थियो। त्यही खोले र यादहरूलाई सितन गराउँदै एक दुई गिलास गर्दै पुरै बोटल सकिदिए। वाईनको नशा र उम्लिएर आएका ती अतिताका यादहरूले छटपटी बढ्दो थियो। सुनाउने मान्छे सम्म थिएन। सोचे सबै यादहरू डायरीलाई सुनाउँछु। अनि डायरीसँग संबाद गर्दै गए।

डियर डायरी ,
तिम्रा यी पानाहरूमा प्रमिललाई वैवाहिक जीवनको शुभकामना दिएर सुरुवात गर्न चाहन्छु। शुभकामना प्रमिल तिमीलाई। साचिकै राम्रो जोडी छ तिम्रो। यी अक्षरका माध्यम बाट सायद तिमीले सबै कुरा सुन्ने छौ ,डियर डायरी।

प्रमिलसँग पहिलो भेट एयरपोर्टमा भएको थियो। अमेरिकी सरकारको छात्रवृत्तिमा दुई वर्ष पढेर नेपाल फर्किने सोचसँगै यहाँ आएको थियो।

उसको यहाँ कोही पनि नभएकोले एउटा साथीको मार्फत मेरो सम्पर्कमा आएको थियो। सुरुवाती दिनमा उसलाई दिनु पर्ने सुझाव , सहयोग गर्दै गए। पहिलो भेट मै मनमा छुट्टै भाव पैदा भएको थियो। बिस्तारै हामी मिल्ने साथी बन्यौ। मलाई उसका हरेक कुरा मन पर्दै गए। ऊ नजिक नहुँदा छटपटी हुन्थ्यो। काममा हुँदा पनि घर कति बेला गएर उसलाई भेटु भनेर मात्र सोच्थे। उसले बैठक कोठामा असाइनमेंट गरेर बस्दा मोबाइल चलाए जस्तो गरेर उसलाई नै हेरेर बस्थे। राति ऊ आफ्नो कोठामा जाँदा मै पनि सँगै गई दिऊँ जस्तो लग्थ्यो। जब कुनै रोमान्टिक गीत बज्थ्यो ती शब्द र ती दृश्य उसको र मेरो लागि लेखिएको हो जस्तो लग्थ्यो। म उसको प्रेममा थिए।

एक दिन आँट निकालेर भने प्रमिल म तिमीलाई प्रेम गर्छु। उसले तुरुन्त प्रतिक्रिया दिँदै भन्यो ” सन्जु ! तिमी मेरो मिल्ने साथी , साथीको सम्बन्ध मैले गुमाउन चहादिन त्यसैले यो पागलपन छोड।” उसले थप्दै आफ्नो परिवारको बारेमा समेत बतायो ” तिम्रो र मेरो बिहे हाम्रो परिवारले हुन् दिँदैन , म परिवारमा विद्रोह गर्न सक्दिन।” प्रेमका अकुराहरु मनमा पलाउँदै थिए तर प्रमिलको प्रतिक्रियाले ती पलाउन लागेका पालुवामा ठुला ठुला असिना परेर हिर्काए जस्तै भयो।

समय बित्दै थियो। हामी नजिक हुँदै थियौ। सायद उसको प्रेम भन्दा पुरुष मन म प्रति आकर्षित हुँदै थियो। हामी बैठक कोठामा टिभी हेर्दै थियौ। उसको आँखामा केही परेको थियो। उसले मलाई सहयोग माग्यो। मैले उसको आँखामा फुकीदिए ,त्यति नै बेला उसले मेरो निधारमा चुम्बन दियो। ऊ अगाडी बढ्दै मेरो कम्मरमा हात राखेर मलाई छोप्यो। मैले प्रेम गर्ने व्यक्तिले मलाई नजिक तानेकोमा मन धेरै खुसी थिए सँगै डराएको पनि थिए। त्यस दिन पछि दुई बेडरुमहरु एक भए। त्यो पहिलो रात मैले उसलाई सोधेकी थिई ,हाम्रो सम्बन्धको अर्थ के प्रमिल ? उसले डराएको स्वरमा भन्यो ” थाहा छैन !” त्यति नै बेला सोचे ” हाम्रो सम्बन्धको कुनै गन्तव्य छैन ” तै पनि उसलाई मैले प्रेम गर्न कहिले पनि छोडिन। म विश्वकर्मा ऊ एउटा पुरोहितको छोरा , कानुनमा जे लेखिए पनि उसले घरमा मलाई लिएर जान सक्ने अवस्था थिएन। त्यसैले ऊसँग बिताउने हरेक पलहरू मैले यादगार गराउन चाहन्थे। मेरो प्रेम र सम्बन्ध प्रतिको दृष्टिकोण फरक थियो। सम्बन्धमा स्वार्थ हुन्छ तर प्रेम निश्चल हुन्छ भनेर मैले सोच्ने गर्थे। त्यसैले पनि मैले सम्बन्धमा भन्दा प्रेममा जोड दिन्थे।

६ महिना अगाडी उसले आफ्नो पढाई सकेर नेपाल फर्की सकेको थियो। कहिले कहिँ कुरा हुन्थियो। केहि हप्ता अगाडी बिकट ठाऊमा सर्बेको लागि जादैछु भनेर अन्तिम संबाद गरेको थियो। त्यस पछि एकै चोटी मण्डपको दृश्यमा उसलाई देखे।

डायरीसँग अक्षरको माध्यम बाट आफ्नो कथा सुनाउँदा सुनाउँदै कति बेला निदाएछु , थाहा नै भएन।

अर्को दिन , बिहानै आँखा खुल्यो। टाउको भारी भएको थियो। खाटको अगाडी पट्टि रहेको सानो टेबलमा रहेको मोबाइल ताने। म्यासेजको धेरै नोटिफिकेसन थिए। घर बाट आमा बुबाले १५-२० चोटि फोन गर्दा पनि उठाइन छु। मिल्ने साथीहरूको धेरै म्यासेज थिए। “उठे पछि फोन गर है ” प्रभाले लेखेकी थिई। यसो हेरेको राति २-३ घण्टा कुरा गरेको रै छु। तर अहिले समझदा याद आए जस्तो , केही बिर्से जस्तो एउटा सपना देखे जस्तो भई रहेको थियो। यसो उठ्न खोजे डायरी पेन बेड मै थियो। हेर्दै गए अन्तिममा लेखिएको थियो। ” प्रेमले होइन यहाँ सम्बन्ध र यादहरूले रहेछ तड्पाउने। प्रमिल मेरो दैनिकी त परिवर्तन होला तर तिमी प्रतिको प्रेम कहिले पनि परिवर्तन हुनेछैन। मेरो जीवनको डायरी भित्रको यो प्रेमलाई सधैँ जीवन्त राख्नेछु छु। चुपचाप तिमीलाई पाउने , गुमाउने दुवै आशा नराखी।