प्याज बिनाको दसैँ - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

प्याज बिनाको दसैँ



काठमाडौं- भारतले देशभित्र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि त्यसको प्रभाव परेको छ ।

उसले घरेलु बजारमा विक्रेताले बिक्री गर्ने प्याजको भण्डारण परिमाण तोकेको छ। यसले प्याजको नेपाली बजार झनै अकासिने सम्भावना बढेको छ। नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ।

भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार विदेश व्यापार महानिर्देशनालयलाई अर्को आदेश नआएसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ। दिल्ली सरकारले आइतबारदेखि नागरिकलाई एकपटकमा पाँच किलो मात्रै खरिद गर्न पाउने नियम लगाएको छ।

मन्त्रालयले थोक विक्रेताको हकमा अधिकतम ५ सय र खुद्रा व्यापारीको हकमा १ सय क्विन्टल मात्रै भण्डारण गर्न पाउने कोटा तोकेको छ। अत्यधिक परिमाणमा भण्डारण गरी कालोबजारी गर्न सक्ने आशंकापछि यो कदम चालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतमा ‘अफ सिजन’का कारण मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पर्छ। काठमाडौं उपत्यकामा थोक मूल्य १ सय रुपैयाँदेखि १ सय २० रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ।

खुद्रा व्यापारीले १ सय ५० रुपैयाँसम्म मूल्य तोकेका छन्। आजको अन्नपूर्ण दैनिकमा राजेश बर्माले खवर छापेका छन् ।