दरबारमार्गकाण्ड: प्रहरीले सामूहिक बलात्कारको घटना लुकाउन दोषीलाई सुटुक्क छाड्यो - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

दरबारमार्गकाण्ड: प्रहरीले सामूहिक बलात्कारको घटना लुकाउन दोषीलाई सुटुक्क छाड्यो



काठमाडौं ।।  राजधानीको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ मा संलग्न मुख्य आरोपीलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गले एक रात थुनामा राखेर सुटुक्क छाडेको तथ्य खुलेको छ ।

प्रेमी र उनका ३ साथीबाट बलात्कृत युवतीको सहयोगमा घटनाको तेस्रो दिन गत शनिबार महानगरीय प्रहरी वृत्त, महाराजगन्जले मुख्य आरोपीलाई पक्राउ गरेको थियो ।

महाराजगन्ज वृत्तमा राखिएका ती युवकलाई दरबारमार्ग वृत्तबाट खटिएको सई नेतृत्वको टोलीले शनिबार साँझ करिब ७ बजे जिम्मा लिएको थियो ।

सोही रात उनको स्वास्थ्य परीक्षण पनि गरिएको थियो । एक रात दरबारमार्ग वृत्तमै राखिएका ती युवकलाई आइतबार बिहानै सुटुक्क छाडिएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

प्रहरीले यस घटनालाई गुपचुपराखेको थियो । दरबारमार्ग वृत्तका डीएसपी तिलक भारतीले सोमबार उक्त घटनाबारे आफूकहाँ कुनै केस नआएको दाबी गरे पनि पछि उक्त घटनामा दुवै पक्ष आफैं मिलेको भन्ने सुनेको बताएका थिए ।

गत बिहीबार राति काठमाडौंको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा चार जनाको समूहले एक युवतीलाई ‘सामूहिक बलात्कार’ गरेको घटनामा प्रहरीले उजुरी दर्ता नगरी मिल्न दबाब दिएको रहस्य सोमबार मात्रै खुलेको हो । त्यसलगत्तै महानगरीय प्रहरी परिसर, काठमाडौंले उक्त घटनाको अनुसन्धान गर्न एसपीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

स्रोतका अनुसार राति आफ्नो प्रेमीसहित होटलमा बस्न गएकी ती युवतीलाई अबेर राति उनीहरू बसेको होटलको कोठामा आएका केटाका ३ जना साथीले सामूहिक बलात्कार गरेका थिए ।

शुक्रबार बिहान करिब ८ बजे ती युवाले युवतीलाई ट्याक्सीमा राखेर घर छाडिदिन भनेका थिए । युवतीले ट्याक्सी चालकलाई आफू बलात्कृत भएको बताउँदै प्रहरीकहाँ लगिदिन आग्रह गरेकी थिइन् । चालकले ती युवतीलाई कमलपोखरी वृत्त पुर्‍याइदिएका थिए ।

उच्च स्रोतका अनुसार युवतीले नै केटालाई छुटाएर लगेको कागज गरेर घटना थामथुम पार्ने प्रयास गरिएको छ । स्रोतका अनुसार दरबारमार्ग वृत्तका मुद्दा शाखाका इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीसहित अर्का एक सईले आर्थिक लेनदेन गरी मिलाउन भूमिका खेलेका थिए ।

ठकुरी तिनै इन्स्पेक्टर हुन् जो एक वर्षअघि मात्रै दरबारमार्ग वृत्तबाट सरुवा भएर कालिमाटी वृत्त पुगेका थिए । कालिमाटीबाट सरुवा भएर बालाजु वृत्त पुगेका उनी पहुँच प्रयोग गर्दै करिब ३ महिनाअघि काजमा दरबारमार्ग वृत्त फर्केका थिए ।

घटना सार्वजनिक भएलगत्तै प्रहरी प्रधान कार्यालयले ठकुरीलाई छानबिनका लागि भन्दै महाराजगन्जस्थित २ नम्बर गणमा तानेको छ । प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार सामूहिक बलात्कार घटनाबारे प्रहरी प्रधान कार्यालयले गम्भीर चासो राखेर अनुसन्धान थालिसकेको छ ।

बलात्कारमा परेकी २२ वर्षकी युवती करिब ७ महिनाअघि एक युवकसँग फेसबुकमार्फत सम्पर्कमा पुगेकी थिइन् । त्यही चिनजानी भेटघाट हुँदै प्रेममा परिणत भएको थियो । प्रेमीको भर परेर उनी गत शुक्रबार होटलमा बस्न पुगेकी थिइन् । उच्च स्रोतका अनुसार घटनामा मुछिएका चारै जना युवा फरार छन् ।

प्रहरीले तीमध्ये दुईको पहिचान गरे पनि त्यो खुलाएको छैन । प्रहरी परिसर, काठमाडौंले एसपी रामदत्त जोशीको नेतृत्वमा बनेको छानबिन समीतिले घटनाबारे छानबिन थाले पनि कसैसँग बयान सुरु गरिसकेको छैन ।