‘दराज’को ठगी धन्दा, उजुरी दिएपनि हुँदैन कारबाही
काठमाडौं। पछिल्लो समय बजारमा अनलाईन सपिङको भिडभाड छ। सुन जस्तै देखिने गहना देखि कपडा, घडी, चस्मा सम्म फेसबुकको पेजकै भरमा अर्डर गराउने र घरमै पुराइदिने लहड चलेको छ। नेपालमा कतिपय अनलाईन सपिङहरू केहि ब्यबसायिक तरिकाले पनि सन्चालन गरिएको छ। त्यस्तै अनलाईन सपिङ गर्ने एउटा निजि कम्पनी दराजले पनि बजारमा ब्यापक ठगी गरेको भेटिएको छ । यसअघि पनि दराजका ठगीका बारे धेरै कुरा बाहिर नआएका भने होइनन ।
केहि समय अगाडी दराजले चौतर्फीरुपमा ठगी गरेको उजुरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा परेको थियो । ६ महिना अघि विभागमा उजुरी परेपछि दराजले अनलाइन ब्यापार सम्बन्धि सबै कागजात बुझाएको थियो । तर ति कागजातबारे विभागले कुनै अनुसन्धान नगरेको पाइएको छ । कागजात बुझाएपनि त्रुटी नकेल्याई विभागले कार्यालयमै थन्काएको छ ।
दराजको ठगि धन्दाबारे उजुरी परेपछि गएको जेठमा विभागले अनुगमन पनि गरेको थियो । अनुगमनको क्रममा दराजले सम्बन्धित कर्मचारी नभएको भन्दै बहाना बनेपछि अनुगमन टोली रित्तै फर्केको थियो ।
विभागले ७ दिन भित्र दराजको अनलाईन व्यापारको सबै कागजात पेश गर्न निर्देशन भने दिएको थियो । उक्त कागजात दराजले ढिलो गरी बुझायो । ढिलै बुझाएको ती कागजातमाथि विभागले छ महिना हुँदा समेत अध्ययन गरेको छैन् । विभागले कागजात पेश गरेको तर, अध्ययन नभएको स्वीकार गरेको छ ।
अहिलेपनि दराजबाट ठगिएको भन्दै धेरै ग्राहकले गुनासो गरिरहेका छन् । यसरी बिगत देखि हालसम्म उपभोक्ता बाट उजुरी पर्ने र गुनासो गर्ने क्रम बढिरहेको बेला विभागले फाइल नखोल्नुले मिलेमतो हुनसक्ने अनुमान गर्न सकिन्छ । राष्ट्रिय उपभोक्ता मञ्चले पनि विभाग दराजको प्रभावमा परेको बताएको छ ।
दराजको काम पनि गैर कानुनी भएको भेटिएको छ। उद्योगमा दर्ता गरी दराजले वाणिज्य सम्वन्धी व्यापार गर्दै आएको छ । जुन नीतिगत रुपमै स्पस्ट देखिने ठगी हो । यसरी ठगिरहेकोबारे सम्बन्धित निकायहरू मौन बस्नु वा कुनै कदम नचाल्नु भनेको अझै ठग्न उत्प्रेरित गर्नु हो।
त्यति मात्र नभई कुनै सामानको व्यापार गर्न सम्वन्धीत विभागको अनुज्ञा पत्र लिन पर्छ । तर, दराजले विभागसँग कुनैपनि वस्तु विक्री गर्नका लागि अनुमति लिएको छैन् । यस बाहेक दराजले सेल अफर भन्दै कुनै पनि वस्तुको मूल्यमा भारी छुट दिएको वेवसाइटमा देखिन्छ । तर, उक्त सामान खरिद गर्ने हो भने दराजले कमसल, गुणस्तहिन् र सस्तो मूल्यको सामा पठाउने गरेको ग्राहकको गुनासो छ ।
अफरमा बेचिएको सामान सामान लिने बेलामा उपभोक्ताले हेर्नसमेत पाउदैनन् । त्यतिमात्र होइन अफरमा बेचिएको समान फिर्ता गर्ने वा साट्ने कुनै सुबिधा छैन । त्यस्तै दराजबाट सामान खरिद गर्दा भ्याट बिल समेत पाइदैन् ।
दराजले अनलाइन सपिङको नाममा खुल्लमखुल्ला ठगिको धन्दा चलाएको देखिएपनि राज्यले कुनै कदम नचाल्नु नियतमै शंका गर्नुपर्ने अवस्था छ।