दानुफाँटा नमुनाको पाँचौं साधारण सभा सम्पन्न , वैज्ञानिक वन व्यवस्थापन गर्ने लक्ष्य - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दानुफाँटा नमुनाको पाँचौं साधारण सभा सम्पन्न , वैज्ञानिक वन व्यवस्थापन गर्ने लक्ष्य



गोविन्द बीसी / बौनिया ।
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ बुटकौवामा रहेको दानुफाँटा नमूना सामुदायिक बन उपभोक्ता समूहको पाँचौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

बन उपभोक्ता समूहका अध्यक्ष टेकराज जोशीको सभापतित्वमा भएको साधारण सभामा वडाअध्यक्ष कर्ण सुनार प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा रानीजरुवा सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष लालसिंह विश्वकर्मा बिशिस्ट अतिथि रहेका थिए । यस्तै, शिवशक्ति ग्रामिण विद्युत संस्थाकी अध्यक्ष डम्बरा घर्तीमगर, न्यू लालिगुरास ग्रामिण विद्युत संस्थाका अध्यक्ष भुपेन्द्र रास्कोटी लगायत अतिथि रहेका थिए ।

साधारणसभामा आर्थिक वर्ष २०७४/०७५ को कुल ८ लाख ५८ हजार ८ सय ८० रुपैयाँ आयव्यय अनुमोदन गरिएको छ । सामुदायिक बनले पछिल्लो समयमा बन व्यवस्थापन संगै सामाजिक बिकास निर्माणकार्यमा समेत काम गर्दै आएको छ ।

गत आर्थिक वर्षमा सामुदायिक बनले गरीबी निवारणमा ९८ हजार ८ सय रुपैयाँ खर्च गरेको छ । जसबाट गरीबी र न्यून आयस्रोत भएका उपभोक्ताहरुका लागि जीबिकोपार्जनमा सहयोग पुगेको बनका अध्यक्ष टेकराज जोशीले बताए । उनले आगामी दिनमा स्थानीय उपभोक्ताको आयस्तर वृद्धि हुने खालको सीपमूलक तालिमको योजना रहेको समेत बताए ।

सामुदायिक बनले गतवर्ष १ लाख ४ हजार रुपैयाँ लागतमा १ किलोमिटर बाटो ग्राबिल निर्माण गरेको छ । भेलाबाट चालू आर्थिक २०७५/०७६ मा बैज्ञानिक बन ब्यवस्थापन कार्ययोजना निर्माण गरि लागू गर्ने निर्णय गरिएको छ । सोही वडामा रहेकोे जगदम्बिके भगवती माविको स्तर उन्नतिका लागि १ लाख ६१ हजार ५१ रुपैयाँ प्रदान गरिने निर्णय गरिएको छ ।

९८ दशमलव ४४ हेक्टर बन क्षेत्रफल रहेको सामुदायिक बनले दीगो ब्यवस्थापनका लागि आगामी दिनमा कार्यक्रम गर्ने लक्ष्य लिएको सामुदायिक बनका सचिव टेकबहादुर रोकायले बताएका छन् । कार्यक्रमको संचालन कोषाध्यक्ष बसन्त ओलीले गरेका थिए ।