जहाज जस्तै मेसिन अलपत्र - Himal Post Himal Post
  • ३० चैत्र २०८१, आईतवार
  •      Sun Apr 13 2025
Logo

जहाज जस्तै मेसिन अलपत्र



दाङ, १ कार्तिक । हेर्दा पानी जहाजजस्तो  देखिने  निकै ठूलो मेसिन देउखुरीस्थित राप्ती नदी किनारमा केही वर्षदेखि यसरी अलपत्र अवस्थामा रहेको छ । लमही नगरपालिका वडा नं. ७ हसनापुर  नजिकको राप्ती नदी घाटमा राखिएको  यो मेसिन वास्तवमा कुन प्रयोजनका लागि यहाँ राखिएको हो, भन्ने एकिन हुन सकेको छैन ।

मेसिनमा ठूलो क्षमताको जेनेरेटरका साथै सानो ठूलो विभिन्न उपकरणहरू जडान भएको छ । तर स्थानीयका अनुसार चाइनिजहरूले यो मेसिन यहाँ जडान गरेको र नदीको वालुवामा रहेको सुन खोज्न यो मेसिनको प्रयोग गर्ने गरेको बताएका छन् ।

‘चाइनिज कम्पनीले बगरमा वालुवा चालेर सुन निकाल्न मेसिन राखेको तर, सुन भेटियो की भेटिएन हामीलाई थाहा छैन्, वगरभरी मेसिन चलाएका हुन्’लमही नगरपालिका वडा नं. ७ निवासी पदमबहादुर चौधरीले भने–‘सुरु सुरुमा चाइनिजहरू काम गर्न आएका थिए, पछि नेपालीले चलाउन थाले त्यसपछि सुनसान भयो’चौधरीले भने–‘फलामै फालमले पानी जहाजजस्तो मेसिन बगरमा राखेका छन्, कहिलेसम्म यो मेसिन यही रहने हो थाहा छैन ।’

केही वर्षअघि सुन खोज्न भन्दै चाइनिज कम्पनीले राप्ती नदीको बालुवा चाल्ने गरेको थियो । उनीहरूले त्यहाँबाट के फेला पारे भन्ने बारेमा जानकारी कसैलाई हुँदैन । सुन खोज्ने भन्दै आउने चाइनिज कम्पनीहरूको काम शंखास्पद हुने स्रोतले बताएको छ ।
नदीको  बीचमा राखिएको  यो  मेसिन केही समय सञ्चालन गरिए पनि हाल बन्द र अलपत्र अवस्थामा रहेको छ । नदीको  बीच भागमा जडान गरिएको  यो  मेसिनलाई वर्षातमा नदीको  बहावले  धकेलेर  अहिले  किनारामा पु¥याइदिएको  छ ।

जानकारहरूका अनुसार रोल्पाको  माडी हुँदै  दाङ भएर  भएर  बग्ने  राप्ती नदीको  बालुवामा सुन रहेको  पाइएपछि चिनियाहरूले  ठूलै  लगानी गरेर  राप्ती नदीमा यो मेसिन राखेका हुन । यसअघि माडीखोलामा लामो  समय मेसिन राखेर  बालुवा चाल्ने  काम गरेका चिनियाँहरूले  नै राप्ती नदीमा मेसिन जडान गरेको बताइएको छ ।

मेसिन जडान भएको केही दिनसम्म सुन चाल्ने  काम गरिएको  र  त्यसबाट निकालिएको केही गाडी बालुवा  चिनिया लगानीकर्ताले  काठमाडौ ं लगे  पनि त्यसबाट कति सुन फेला प¥यो  भन्ने  कसैलाई जानकारी छैन ।

केही वर्षअघि रोल्पाको  माडीखोलामा पनि यस्तै  मेसिन राखेर  सुन खोज्ने  काम गरिएको  थियो  । त्यस्तै, रोल्पाको  सुनछहारी क्षेत्रमा सुनखानी रहेको अनुमान गरिँदै आएको  छ । सो क्षेत्रमा स्थानीयले पनि कैयौं वर्षदेखि बालुवा चालेर सुन निकाल्ने  गरेका छन । माडीखोला प्युठान हुँदै दाङ आइपुग्दा राप्ती नदी बन्छ भने यो नदी बाँके  हुँदै  कर्णालीमा मिसिन्छ ।