दाङमा बढ्दै सवारी दुर्घटना
दाङ । ट्राफिक सचेतनाका लागि निरन्तर अभियान संचालन हुँदै आए पनि दाङमा सवारी दुर्घटना बढ्दै गएको छ । जिल्लामा दुर्घटना न्यूनीकरणका लागि सवारी जाँचमा कडाइ र कारबाहीको प्रक्रिया अघि बढाए पनि दुर्घटना कम हुनुको साटो झन बढ्दै गएको हो ।
आब २०७४÷०७५ को साउन महिनादेखि पुस महिनासम्म ९३ वटा सवारी साधन दुर्घटना भएका छन् । दुर्घटनामा परी ४२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ पुरुष, ६ जना महिला, ६ जना बालक र २ बालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । सवारी दुर्घटनामा ७६ जना गम्भीर घाइते भएका छन् ।
ठूला सवारी साधनभन्दा पनि साना सवारी साधनमा दुर्घटना बढी हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । सडक सञ्जाल र यातायातका साधन बढ्दै जाँदा हरेक वर्ष सवारी दुर्घटना पनि बढ्दो क्रममा छ । अहिलेसम्मकै तथ्यांकअनुसार सबैभन्दा बढी दुर्घटना मोटरसाइकलबाट भएको देखिन्छ । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ ।
ट्राफिक प्रहरीका अनुसार छ महिनाको अवधिमा ४२ वटा मोटर साइकल दुर्घटना भएका छन् । बस १५ वटा, ट्रक १२ वटा, जिप÷कार १३ वटा, ट्याक्टर छ वटा, टेम्पो पाँच वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका लालबहादुर देउवाले बताए ।
जिल्लामा गत आर्थिक वर्ष २०७३÷०७४ मा एक सय ७२ वटा सवारी दुर्घटनामा ७७ जनाको मृत्यु भएको थियो । जसमा पुरुष ५८, महिला ११, बालक छ, बालिका दुई जनाको सवारी दुर्घटनाका कारण मृत्यु भएको थियो ।
यसका साथै १२० जना गम्भीर घाइते तथा एक सय एक जना सामान्य घाइते भएका थिए । पछिल्लो समय बढ्दो सवारी साधनको चाप, साँघुरो बाटो, क्षमताभन्दा बढी यात्रु बोक्ने, सडकको जीर्ण अवस्था र सडक निर्माणका नाममा ठेकेदारले सडक निर्माणमा वर्षौं लगाउँदा दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरी निरीक्षक ओम प्रकाश वाग्लेले बताए । ट्राफिक नियम उल्लंघन, मादक पदार्थ खाएर सवारी चलाउने र तीव्र गतिले सबैभन्दा बढी दुर्घटना भइरहेको उनको भनाइ थियो ।
‘सवारी साधन प्रयोगकर्ताहरूको संख्या बढ्नु, नियम विपरीत सवारी साधन चलाउनु, सडकको अवस्था जीर्ण हुनु, तीव्र गतिमा सवारी साधन चलाउनु, क्षमताभन्दा बढी लोड बोक्नु जस्ता कारणले सवारी दुर्घटना हुने गरेका छन्ँ, प्रमुख वाग्लेले भने । जिल्लामा भएका सवारी दुर्घटनामा धेरै चालकको गल्तीका कारण भएको अनुसन्धानले देखाएको छ । दाङमा मापसे गरी सवारीसाधन हाँक्दा कारबाही हुनेको संख्या पनि बढ्दै गएको छ ।
ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार २०७४÷७५ को साउन महिनादेखि पुसको अन्तिम सम्ममा सवारी साधन कारबाहीबाट साउन महिनामा १२ लाख ३५ हजार, भदौ महिनामा १६ लाख ४५ हजार, असोज महिनामा १५ लाख ५७ हजार पाँच सय, कात्तिक महिनामा १६ लाख ७७ हजार, मंसिर महिनामा १३ लाख २० हजार पाँच सय, पुस महिनामा १५ लाख ३७ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।