अब नराम्रो काम गर्नेलाई दण्डित नगरे माओवादी पार्टी बन्दैन- प्रचण्ड - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

अब नराम्रो काम गर्नेलाई दण्डित नगरे माओवादी पार्टी बन्दैन- प्रचण्ड



काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताएका छन् ।

सोमबार गत स्थानीय निर्वाचनमा पार्टीमाथि अन्तर्घात गर्ने नेताहरूको छानबिन गर्न गठित टंक राई नेतृत्वको समितिको प्रतिवेदन बुझ्दै प्रचण्डले पार्टीलाई अनुशासनमा चलाउनका लागि समिति गठन गरेर अन्तर्घातको छानबिन गरिएको बताए ।

उनले राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रो काम गर्नेलाई दण्डित नगर्ने हो भने पार्टी कम्युनिस्ट पार्टी जस्तो नरहने बताए । उनले पार्टीलाई विधिसम्मत् रूपमा चलाउने पनि बताए ।

यो कुरा कुनै खास ठाउँमा भएका अनियमितता वा गढबडीहरूलाई सच्याउने कुरासँग मात्रै सम्बन्धित छैन । यो पार्टीलाई विधिसम्मत तरिकाले र अनुशासनमा राखेर चलाउने विषयसँग बढी सम्बन्धित छ । त्यसकारण राम्रो गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रो गर्ने, अनुशासन तोड्ने र अराजकतातिर जानेहरूलाई दण्डित गर्ने यो प्रक्रिया अगाडि नबढाउने हो भने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी जस्तो रहँदैन,” उनले भने ।

उनले छानबिन समितिले विभिन्न नेता कार्यकर्तालाई निलम्बन, निष्कासन र चेतावनी दिनुपर्ने निष्कर्ष निकालेको भन्दै प्रतिवेदनको सम्बन्धमा पार्टी पदाधिकारी र स्थायी कमिटी बैठकमा छलफल गरेर आवश्यक कारबाही गरिने बताए ।