गैरदलित मित्रहरू मानवीय बनौँ - Himal Post Himal Post
  • १२ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 28 2024
Logo

गैरदलित मित्रहरू मानवीय बनौँ



— सुमिना ‘अभिलाषी’

हामीले देखिरहेका छौँ, वर्तमान समयमा सामाजिक सञ्जालका भित्ताहरू जातीय मुद्दाका बहस र टिकाटिप्पणीहरूले भरिएका छन् । रुकुममा भएको नरसंहारकारी घटनाबाट सुरू भएको जातीयताको विवाद यतिबेला देशव्यापी बनेको छ । सेलिब्रेटीदेखि आम मानिसहरूले आ–आफ्ना धारणाहरू आ–आफ्नो तरिकाबाट व्यक्त गरिरहेका छन् । कतिपयले हत्या र नरसंहारजस्तो अत्यन्तै अपराधिक घटनामा निर्लज्ज अभिव्यक्ति दिएका छन्, कतिपय मौन छन् भने कतिपय न्यायको माग गरिरहेका छन् । सामाजिक सञ्जालमा लेखिएका तथा बोलिएका धारणाहरू अध्ययन गर्दा हामीले यतिबेला विभिन्न प्रकारका प्रवृत्तिहरू देख्न सक्छौँ ।

पहिलो प्रवृत्ति
अस्पष्ट अभिव्यक्ति दिएर आफूहरूलाई परिवर्तन स्वीकार गरेको क्रान्तिकारी तप्काको रुपमा उभ्याउन खोज्ने एउटा गैरदलितहरूको झुण्ड छ । जो देखिन त अत्यन्तै उदार देखिन्छ, तर ऊ आफैँ सङ्कुचित छ । दलितहरूप्रति केही सकारात्मक अभिव्यक्ति दिएर आफू उनीहरूको पक्षमा भएको घोषणा त गर्छ, तर बेलाबेला विपरीत विचारहरूमा एक्यबद्धता जनाउन पनि पुग्छ । ऊ परिवर्तन त चाहन्छ, तर अन्तरआत्मामा दबेर रहेको जातिवादी मानसिकताबाट स्वयम् मुक्त हुन भने सकेको छैन ।

दोस्रो प्रवृत्ति
पढेलेखेको छ, आफूलाई विद्वान् ठान्छ, समाज बुझेको छु भन्छ, तर ऊ सामाजिक परिवर्तनको विरूद्धमा छ । पुरातन परम्पराको संरक्षण चाहन्छ । दलितहरूको उत्थानमा बाधा हाल्न हरसम्भव प्रयास गरिरहन्छ । उसलाई लाग्छ कि दलितहरु भनेका सदियौँदेखि दलिँदै आएकाहरु ह्ुन्, अझै पनि दलिनुपर्छ र त्यही नै उनीहरुको नियति हो । दलितहरूमाथिको दलनमै ऊ आफ्नो उत्थान सम्झन्छ, आफूलाई महान् सम्झन्छ र सधैँ नै यही सिलसिलाको निरन्तरता चाहन्छ । त्यसैले दलितहरुलाई निच देखाउन धेरै तल झरेर अत्यन्तै निकृष्ट र परिवर्तनविरोधी कुतर्कहरू गरिरहन्छ ।

तेस्रो प्रवृत्ति
परिवर्तन चाहने एउटा तप्का छ, जो समाजमा विद्यमान हरेक प्रकारका शोषण एवम् दमनहरूको विरुद्धमा उभिन खोज्छ । अत्यन्तै सन्तुलित अभिव्यक्ति दिएर आफूलाई समाजको सचेत तप्काको रुपमा स्थापित पनि गर्दछ, दलितहरूको पीडालाई मध्यनजर गर्दछ र दलितहरुमाथि हुने भेदभाव तथा उत्पीडनका विरूद्ध वकालतमात्रै नगरी सँगसँगै हातमा हात मिलाउँदछ ।

चौथो प्रवृत्ति
धार्मिक तप्का । ऊ आफूलाई धर्मको अनुयायी सम्झन्छ, वेदहरूको अनुसरण गर्छु भन्छ र त्यसै अनुसार विभेद गर्छ । विभेदजन्य मनुवादी विचारबाट ग्रस्त छ । छुवाछूत नगर्नु र दलितहरूलाई मन्दिर प्रवेश गर्न दिनु अधर्म हो भन्ने ठान्दछ । आफूलाई धार्मिक बनाउन छुवाछूत गर्छ र दलितहरूको हक र हितको विपक्षमा उभिन्छ ।

सामाजिक सञ्जालमा देखिने यी र यस्ता प्रवृत्तिहरू भनेका हाम्रै समाजका प्रतिबिम्बहरू हुन् ।
भर्खरै अर्घाखाँचीमा अर्को एउटा घटना घटित भएको छ । “क्वारेन्टाइनमा दलितहरूले पकाएको खान्नँ बरू मर्छु” भन्ने अभिव्यक्ति । नयाँ पुस्ताले यस्तो अभिव्यक्ति दिनु भनेको अत्यन्तै लज्जास्पद कुरा हो । यसले हाम्रो समाजको वैचारिक नग्नता तथा व्यवहारिक कटुतामात्र प्रदर्शन गरेको छैन, हाम्रो समाज कस्तो वैचारिक धरातलमा उभिएको छ भन्ने कुराको पनि उदाहरण प्रस्तुत गरेको छ ।
दलितले पकाएको खाँदा खराब सपना देख्छु, पाप लाग्छ या मर्छु भन्ने अभिव्यक्ति दिनुले त्यो मानिसको कसुरभन्दा बढी ऊ जन्मी हुर्किएको र रहँदै आएको सामाजिक परिवेश के कस्तो छ भन्ने प्रश्नलाई जन्म दिन्छ । राज्यको व्यवस्था र चरित्रलाई लक्षित गर्दछ ।

“एउटा भगवान्को सच्चा भक्त अथवा आस्तिकले कुनै न कुनै दिन झुक्किएर भए पनि भगवान देख्छ” भनिन्छ । जन्मेदेखि नै जातीय विभेद सिक्दै र देख्दै आएको मनुष्यले विभेद नगरेर के गर्छ त ?

डराएर, धम्क्याएर र थर्काएर केही समयका लागि छुवाछूतको अन्त्य होला, तर जरा गाडेर बसेको जातिवादी चिन्तनको अन्त्य हुँदैन । सामाजिक, राजनीतिक तथा सांस्कृतिक संरचनामा परिवर्तन भई हरेक मान्छेको चिन्तन प्रणाली एवम् चेतनास्तर उठ्नैपर्ने हुन्छ ।

त्यस्तै प्रवृत्तिहरूमध्ये एउटा प्रवृत्ति हुँ, म पनि । जो दलितहरूको हक र हितको पक्षमा खुलेर आफ्ना अभिव्यक्तिहरू प्रकट गरिरहेकी छु । मैले भन्ने गरेकी छु– “यहाँ जातकै आधारमा कोही निच या उँच हुँदैन । हामी सबै मानिसहरू समान हौँ ।” तर, यो अभिव्यक्ति दिन सक्ने स्थितिसम्म आउनका निम्ति मैले थुप्रै आरोह अवरोहहरू पार गरेकी छु । आफैँसँग वा आफ्नो अन्तरमनसँग द्वन्द्व गरेकी छु ।

दलितको घरमा पहिलोपटक पुगेर चिया पिउँदा पेट गडबड भएको बहाना गरी औँला मुखमा हालेर बान्ता गर्ने मानिस म आफैँ हुँ ।

दलित बस्तीको छेउमा पशुलाई काटेर मासु भाग लगाउने दृश्य देख्दा र संयोगवश त्यही बाटो हिँड्नु परेमा १० कोस परबाटै नाक बन्द गरेर सास नफेरी दगुरेर त्यो स्थान पार गरेपछि आफू ठूलै सङ्कटबाट जोगिएको महसुस गरी लामो स्वास फेर्ने म नै हुँँ ।

आफ्नो भागका कामहरू छिमेकी दलित साथीहरूलाई लगाएर आफू दिनभरि बसेर हैकम चलाउने पनि मै हुँ ।

म त्यो घरकी छोरी हुँ, जहाँ जातकै कारण दैनिकजसो ससुरा र बुहारीको बीचमा ठूलै महाभारत हुने गर्दथ्यो । म त्यस महाभारतको चुपचाप साक्षी बनेर बस्थेँ । हाम्रो घर जनयुद्धको समयमा तत्कालीन माओवादीहरूको बासस्थान पनि हुने गर्दथ्यो । मेरी आमा पेशाले एउटी शिक्षिका र जातपात त्यति नमान्ने हुनुहुन्थ्यो । तर, हजुरबुबा भने अत्यन्तै सामन्त र जातिवादी सोचको व्यक्ति हुनुहुन्थ्यो । सिङ्गो दलित बस्तीमाथि नै शासन गर्ने एउटा शासक ।

आमा जो कोहीलाई पनि घरभित्र पस्ने अनुमति दिनुहुन्थ्यो । तर, हजुरबुबा जात सोध्न थाल्नुहुन्थ्यो ।
एकजना ठकुरी जातका माओवादी नेता, जसले अन्तरजातीय विवाह गर्नुभएको थियो, बाबाको साथी र सहकर्मी भएका कारण मेरो हजुरबुबा पनि उहाँलाई राम्रैसँग चिन्नुहुन्थ्यो । तर, उहाँको अन्तरजातीय विवाहको बारेमा भने अज्ञात नै हुनुहुन्थ्यो । उहाँकी श्रीमती हाम्रो घरमा आवतजावत गर्ने र आमासँग मिलेर खाना बनाउने लगायत घरको काममा सहयोग गर्नुहुन्थ्यो । एक दिन गाउँमा माओवादीहरूको आमसभा थियो । त्यहाँ हजुरबुबा पनि उपस्थित हुनुहुन्थ्यो । आमसभामा महिला नेतृ ठकुरी अङ्कलकी श्रीमतीलाई जब उहाँकै नाम र थरले सम्बोधन गरेर मन्चमा बोलाइयो, मेरो हजुरबुबा रिसले आगो हुनुभयो र घरमा आएर आमामाथि गाली बर्साउन थाल्नुभयो । “ठकुरीकी श्रीमती भनेर त्यसलाई भित्र पस्न दिएको, त्यो त कमिनी पो रहिछे ।” म बूढो मान्छे मर्ने बेलामा अगती पर्ने भएँ भन्दै ब्राह्मण बोलाएर गाई राखेर घर चोख्याउने गतिविधि गर्नसमेत पछि पर्नुभएन । आजका हामी युवा पुस्तासमेत जातिवादी मानसिकताबाट मुक्त हुन सकेका छैनौँ भने त्यो बेला बूढो हजुरबुबाले त्यसो गर्नु सामान्य थियो ।

हजुरबुबाको प्रभाव ठूलै हुँदासम्म मभित्र पनि जातीयतावादी मानसिकता थियो भन्ने कुरा मैले स्वीकार गर्नैपर्छ । जब म जातीय संरचना र यसको सुरूवातबारे अध्ययन गर्न थालेँ, सुरूवात कसरी भयो भनेर वर्णव्यवस्था र विभाजन बुझ्दै जाँदा स्वतः मबाट दलितहरूप्रतिको दृष्टिकोण बदलिँदै गयो । जे–जति भ्रमहरू थिए, स्वतः चिरिँदै गए । मैले स्पष्ट रुपमा बुझेँ, जात भन्ने केही हुँदोरहेनछ । पौराणिक शासकहरूले आफू अनुकूल जातको विभाजन गरी दलितहरूलाई अछूत बनाई सधैँ आफ्नो सेवामा लगाएर दमन गरेका रहेछन् र आफूलाई उच्च जातिको मनुष्य कहलाएर उनीहरूमाथि शासन गरेका रहेछन् । बरू मैले दलितहरू सदियौँ पुरानो दलनबाट मुक्त हुनुपर्ने आवश्यकताको बोध गरेँ ।

म नास्तिक तथा भौतिकवादी भएकै कारण “हिन्दूहरूका परमपिता भनिने ब्रह्माले मुखबाट जन्माएकाहरू ब्राह्मण पाखुराबाट जन्माएका खस घुँडाबाट जन्माएकाहरु वैश्य र पैतालाबाट जन्माएकाहरू शूद्र हुन्” भन्ने भनाइको इन्कार गर्न असहज थिएन । किनकि म कुनै अलौकिक शक्ति वा देवी देवतामा विश्वास गर्दिनथेँ । स्वयम् ब्रह्मा, विष्णुलगायतका तथाकथित भगवान् नै छैनन् भने तिनले जन्माएका मान्छेहरू बाहुन, क्षेत्री, वैश्य र शूद्र हुने सवाल नै हुँदैन । यस्तो निष्कर्षका लागि मानव जातिको उत्पत्ति र विकासक्रमको इतिहासको अध्ययन गर्नु आवश्यक छ ।

र अन्त्यमा,
मुख्य कुरा हाम्रो सोच हो, चिन्तन हो र भ्रम हो । एउटा वृद्ध आमा जो दलितले छोएको खान्नँ, खाएँ भने बिरामी हुन्छु भन्छिन् र उनलाई जबरजस्ती खुवाइन्छ भने उनी बिरामी हुँदिनन् भन्ने कुराको निश्चित हुँदैन । तर, तिनै आमालाई जातपात केही हुँदैन भन्ने कुरा तथ्यसहित राम्ररी बुझाएर स्वेच्छाले खान्छिन् भने उनी अवश्य बिरामी हुँदिनन् । अज्ञानता र मनको भ्रम सबैभन्दा ठूलो शत्रु हो । सत्य देख्न र स्वीकार गर्नको निम्ति भ्रमको निवारण हुनु अनिवार्य छ र भ्रम चिर्नको निम्ति वास्तविक चेतना अपरिहार्य हुन्छ । समस्या जातको होइन हाम्रो बुझाइ र चेतनाको हो । आफ्नो चेतनाको दायरा फराकिलो पारौँ ।

दलितहरूलाई होच्याउनलाई उनीहरूले मासु काटिरहेको ठाउँबाट नाक मुख छोपी स्वास रोकेर दगुर्ने म एउटी कथित उच्च कुलमा जन्मिएकी मान्छे माथि उल्लिखित विभिन्न घटनाक्रमहरूबाट गुज्रिएर जातीयतावादी मानसिकताबाट मुक्त हुँदै समानताको अभियानसम्म आइपुग्न सक्छु भने के तपाइँहरूको निम्ति सम्भव नहोला र ?

त्यसैले गैरदलित मित्रहरू,
भ्रमलाई त्यागौँ, मनको मैलो फालौँ र सत्यलाई अङ्गिकार गरौँ । कथित तल्लो जात र कथित माथिल्लो जात भनेर गरिने विभेद तथा छुवाछूतबाट माथि उठेर सबैसँग हातेमालो गर्दै समस्त मानव एक हौँ भन्ने भावनाको विकास गरौँ ।