फ्राइडे रिलिज : ‘दालभात तरकारी’को आक्रामक सुरुवात - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

फ्राइडे रिलिज : ‘दालभात तरकारी’को आक्रामक सुरुवात



काठमाण्डौ – फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट चलचित्र ‘दालभात तरकारी’ प्रदर्शनमा आएको छ । चलचित्रलाई यस वर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएको छ ।

चलचित्रले मल्टिप्लेक्समा सर्वाधिक २४ शो पाएको छ । सार्वाधिक शो पाएर खुशी भएको चलचित्र युनिटले दर्शकलाई सहज होस् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ समेत खुल्ला गरेको छ । आफूलाई पायक पर्ने समयमा अनलाइनबाट नै टिकट बुकिङ गर्न सकिने छ ।

दर्शकलाई चलचित्र हेर्न सहज होस् भन्ने उद्देश्यका साथ अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको बताइएको छ ।

चलचित्र ‘दालभात तरकारी’ अष्ट्रेलियामा मात्र सर्वाधिक ४५ लाख रुपैयाँमा बिक्री भएको बताइएको छ । यस्तै अमेरिका, युरोप, जापान, दक्षिण कोरियालगायतका देशहरुमा पनि चलचित्र बिक्री भैसकेको पनि बताइएको छ । ओभरसिज राइट्सबाट मात्र चलचित्रले झण्डै १ करोडभन्दा माथिको व्यापार गर्न सफल भएको छ ।

नेपालभित्रको प्रचारप्रसारका लागि रुसलानबाट ४७ लाख, अग्नि सिमेन्टबाट ३७ लाख, जे जे ज्वेलसबार्ट ५ लाख, मार्वल पाइपबाट ५ लाखसँगै अन्य विभिन्न ब्राण्डबाट गरी झण्डै १ करोड ३० लाख जतिको मार्केटिङ स्पोन्सरसिप प्राप्त गरेको थियो ।

आज शुक्रबार भए पनि नेपालमा ‘दालभात तरकारी’ बाहेक कुनै पनि चलचित्र रिलिन नहुने भएकाले पनि चलचित्रलाई व्यापारिक हिसाबले फाइदा पुग्ने देखिन्छ । केही हलमा ‘एभेन्जर्स इन्ड गेम’ र ‘ए मेरो हजुर ३’ चलचित्र चले पनि अधिकांश हलमा आज ‘दालभात तरकारी’ नै चल्ने भएको छ ।

मह सञ्चारको ब्यानरमा निर्माण भएको चलचित्र ‘दालभात तरकारी’मा हरिवंशआचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, सन्दिप क्षेत्री, यमनश्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, विल्सनविक्रम राई, सुरेन्द्र केसीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा,पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । चलचित्रको निर्देशन सुदन केसीले गरेका छन् । चलचित्रमा शम्भुजित बास्कोटाको संगीत छ भने दीर्घ गुरुङको छायाकंन रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको यस सिनेमामा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुरागमानसिंह कुँवर, शिशिर वाङ्देल, विल्सनविक्रम राई, दिपेन्द्र खनिया र सुमित मैनालीले लगानी गरेका छन् ।