दाइजोको निहुँमा बुहारीको हत्या: ससुरा जेल - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

दाइजोको निहुँमा बुहारीको हत्या: ससुरा जेल



जनकपुरधाम – एक महिना अघि घरैमा मृत फेला बुहारीको हत्यामा संलग्न भएको आरोपमा जिल्ला अदालत धनुषाले एक ससुरालाई जेल चलान गरेको छ। जनकपुर उपमहानगरपालिका–२ किशोरीनगरकी २२ वर्षीया रञ्जना शर्माको हत्या अभियोगमा उनका ससुरा ६२ वर्षीय देवनारायण ठाकुरलाई पूर्वपक्षका लागि कारागार चलान गरिएको हो। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

आइतबार जिल्ला अदालत धनुषाका न्यायाधीश बासुदेव उप्रेतीको एकल इजलासले हत्यामा संलग्न रहेको अभियोगमा ठाकुरलाई महोत्तरीको जलेश्वर करागार पठाउने आदेश दिएको हो। सोही घटनाको आरोपी मृतककी सासु सुमित्रादेवी शर्मालाई भने समान्य तारेखमा रिहा गरिएको छ।

गत मंसिर ९ गते बिहान रञ्जनाको शव उनको सुत्ने कोठामा फेला परेको थियो। रञ्जनाको हत्या उनका सासुससुराले नै गरेको आरोप छिमेकीले लगाएपछि माइती पक्षले प्रहरीमा किटानी जाहेरी दर्ता गराएको थियो।

सिरहा नगरपालिका–१८ लक्ष्मीनिया निवासी रामनारायण शर्मा र प्रभादेवी शर्माले आफ्नो छोरीलाई पटक पटक सासुससुरा र श्रीमान आनन्दमोहन ठाकुरले दाइजोको माग गर्दै प्रताडना दिने गरेको बताएका थिए ।

घटना लगत्तै प्रहरीले रञ्जनाका ससुरा देवनारायण र सासु सुमित्रादेवीलाई पक्राउ गरेर कारवाही अघि बढाएको थियो। हत्या अभियोगमा पाँचजनाविरुद्ध किटानी जाहेरी दिए पनि अनुसन्धानका क्रममा सासु ससुराको मात्र संलग्नता रहेको खुलेको थियो ।

जनकपुरको कृष्णा नर्सिङ ईन्स्टिच्युटमा तेश्रो वर्षमा नर्सिंङ पढ्दै गरेकी रञ्जनाको डेढ वर्षअघि १८ लाख दाइजो दिएर विवाह गरिएको थियो। बिहेको केही महिना नबित्दै उनका श्रीमान आनन्द मोहनलगायत घरपरिवारले रञ्जनामाथि विभिन्न लान्छना लगाइ दाइजोको मागसहित यातना दिँदै आएको छिमेकी बताउँछन्।