दाइजो प्रकरण: केटीले गरिन आत्महत्या, केटाका बाबु हिरासतमा - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

दाइजो प्रकरण: केटीले गरिन आत्महत्या, केटाका बाबु हिरासतमा



पर्सा- दाइजोका लागि केटी पक्षलाई प्रताडना गरेको अभियोगमा पर्सा प्रहरीले केटाका बाबुलाई पक्राउ गरेको छ।

पर्साको बहुदरामाई नगरपालिका–८ निवासी बच्चु भनिने जयनारायण साहलाई प्रहरीले पक्राउ गरेको हो। वीरगञ्ज महानगरपालिका–२३ प्रसौनीविर्ता निवासी दयालल साह तेलीकी १८ वर्षीया छोरी रविता कुमारी साह तेलीले दाइजोको कारण बैसाख ६ गते विवाहपूर्व नै पासो लगाई आत्महत्या गरेकी थिइन्। सामाजिक सुधार ऐन २०३३ अनुसारको कसुर भएकाले साहलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिए।

पक्राउ परेका साहलाई मंगलबार सार्वजनिक गर्दै उपरीक्षक रेग्मीले बेहुलापक्षले दाइजोका लागि दिएको दबाबकै कारण रविताले विवाह हुने आठ दिनअघि नै आत्महत्या गरेको अनुसन्धानबाट खुलेपछि आवश्यक कारबाहीका लागि केटाका पिता साहलाई नियन्त्रणमा लिइएको बताए।

रु तीन लाख नगद, साइन मोटरसाइकल, सुनको सिक्री, औँठी, कपडा र घरायसी सामान दाइजोमा दिने सहमतिपछि बच्चु साहका छोरा शिवदयाल कुमार र रविताबीच बैसाख १४ गते विवाह गर्ने सहमति भएको थियो।

दाइजोबारे सहमति भएको केही दिनपछि नै केटा पक्षले थप रु ८० हजार नगद माग गरेपछि दुवै पक्षमा तनाव उत्पन्न भएको र सोको जानकारी रवितालाई भएपछि घरको कोठामा आत्महत्या गरेको अनुसन्धानबाट खुलेको उपरीक्षक रेग्मीले जानकारी दिए।

दाइजोकै कारण विवाहपूर्व नै रविताले आत्महत्या गर्नुपरेको लिखित उजुरी उनका परिवार पक्षले दिन नमानेपछि आत्महत्या गरिने कारकलाई वर्तमान कानुनले कारबाही गर्ने प्रस्ट व्यवस्था नभएका कारण जिल्ला प्रहरी कार्यालय, पर्साको प्रतिवेदनका आधारमा बच्चु साहलाई सामाजिक सुधार ऐनअनुसार मुद्दा चलाउने तयारी गरिएको उपरीक्षक रेग्मीले बताए।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको छ। घटनामा संलग्न रहेका शिवदयाल साह भने फरार रहेको प्रहरीले जनाएको छ। फरार शिवदयालको खोजी भइरहेको प्रहरीले बताएको छ। रासस