दक्षिण भारतीय फिल्मका केही ३० कटेका अविवाहित हिरोइनहरु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

दक्षिण भारतीय फिल्मका केही ३० कटेका अविवाहित हिरोइनहरु



अनुष्का शेट्टी साउथ इन्डियन फिल्मकी सुपरस्टार हुन् । ‘बाहुबली’ र ‘बाहुबली–२’पछि अनुष्काको नयाँ फिल्म दर्शकले हेर्न पाएका छैनन् । उनी अब ‘भागमती’ फिल्मका साथ दर्शकमाझ आउँदै छिन् । उनको भागमती २६ जनवरीमा प्रदर्शन हुँदै छ । ३६ वर्षीया अनुष्का अहिलेसम्म अविवाहित छिन् । उनीजस्तै दक्षिण भारतीय फिल्मका केही चर्चित हिरोइन, जो ३० वर्ष वा त्यसभन्दा बढी उमेरका छन्, तर बिहे भएको छैन । भारतीय अनलाइनले अनुष्कालगायतका अविवाहित केही चर्चित हिरोइनबारे रिपोर्ट तयार गरेको छ:

अनुष्का शेट्टी–३६ वर्ष

दक्षिण भारतका तमिल तथा तेलेगु फिल्मकी सुपरस्टार हुन्, अनुष्का शेट्टी । उनलाई विशेषगरी बाहुबलीका दुईटा सिरिजले सुपरस्टार बनाएको हो । उनलाई अनुष्का मात्र होइन, देवसेनाको उपनामले पनि चिन्ने गरिन्छ । सन् २००५ मा ‘सुपर’ नामक फिल्मबाट करिअर सुरु गरेकी अनुष्काका ‘विक्रमकुडु’, ‘डोन’, ‘किंग’, ‘सौर्यम्’, ‘बिल्ला’, ‘अरुन्धती’, ‘रगडा’, ‘वेदम’, ‘सिंघम २’लगायत थुपै्र फिल्म सफल छन् । ३६ वर्षीया अनुष्का प्रभासको प्रेममा रहेको खबर आउने गरेको छ । तर, उनी भने आफ्नो अफेयरबारे खुल्ने गर्दिनन् ।

काजल अग्रवाल–३२ वर्ष

अर्की चर्चित हिरोइन हुन्, काजल अग्रवाल । सन् १९८५ जुन १९मा जन्मिएकी काजल दक्षिण भारतीय फिल्ममा मात्र नभई बलिउडमा पनि चर्चित छिन् । साउथमा ‘मकाधिरा’, ‘थुप्पाकी’, ‘चन्द्रमामा’लगायतका हिट फिल्म दिएकी काजलले बलिउडका ‘रुपेशल २६’ र ‘सिंघम’ फिल्ममा अभिनय गरेकी छिन् ।

३२ वर्षीया काजल तत्काल बिहे बन्धनमा नबाँधिने सोचमा छिन् ।

नयनतारा–३३ वर्ष

सन् १९८४ को नोभेम्बर १८ मा जन्मिएकी नयनतारा पनि साउथ इन्डियाकी चर्चित हिरोइन हुन् । उनले ‘मनसिनक्कारे’, ‘रुप्पकल’, ‘गजनी’, ‘योगी’, ‘बिल्ला’लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । ३३ वर्षीया नयनतारा पनि अविवाहित छिन् । वेलावेलामा उनको अफेयरको खबर आउने गरेको छ । तर, उनी अहिले करिअरमै केन्द्रित हुन चाहने बताउँछिन् ।

तृषा कृष्णन्–३४ वर्ष

अर्की अविवाहित हिरोइन हुन्, तृषा कृष्णन् । ३४ वर्षीया तृषा पनि प्रेम, विवाहभन्दा आफ्नो ध्यान करिअरमा केन्द्रित गरेको बताउने गर्दछिन् । सन् १९८३ को मे ४ मा जन्मिएकी तृषाले ‘वर्षम्’, ‘जी’, ‘आरु’, ‘कृष्णा’, ‘भीमा’, ‘समर’लगायतका हिट फिल्म दिएकी छिन् । उनले सन् २०१० मा बलिउडको ‘खट्टा मिठ्ठा’ नामक फिल्ममा पनि अभिनय गरेकी छिन् ।

श्रीया शरण–३५ वर्ष

श्रीया शरण ३५ वर्षकी भइसकिन् । प्रेमको मामलामा उदार भए पनि बिहे बन्धनमा भने उनी पनि बाँधिएकी छैनन् । सन् १९८२ को सेप्टेम्बर ११ मा जन्मिएकी श्रीयाले सन् २००२ मा ‘सन्तोष’ फिल्मबाट अभिनययात्रा सुरु गरेकी हुन् । त्यसपछि उनले ‘टंगोर’, ‘शिवाजी दी बोस’, ‘कंदस्वामी’लगायतका दक्षिण भारतीय फिल्ममा अभिनय गरिन् । उनले ‘मिसन इस्तानबुल’, ‘दृश्यम्’लगायतका बलिउड फिल्ममा पनि अभिनय गरेकी छिन् । -नयाँ पत्रिकाबाट