भाग्यमानी क्रोएसिया- लिभाकोभिच बने नायक - Himal Post Himal Post
  • ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
Logo

भाग्यमानी क्रोएसिया- लिभाकोभिच बने नायक



काठमाडौं । साविक उपविजेता क्रोएसियाले कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।

गोलकिपर डोमिनिक लिभाकोभिच नायक बनेपछि पेनाल्टी सुटआउटमा जापानलाई ३–१ ले पराजित गर्दै क्रोएसियाले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।

सोमबार कतारको अल जनौब रंगशालामा निर्धारित ९० मिनेट, इन्जुरी टाइम र अतिरिक्त समयमा क्रोएसिया र जापान १–१ को बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

जहाँ क्रोएसियाका गोलकिपर लिभाकोभिचले जापानको तीन पेनाल्टी बचाउँदै आफ्नो टिमलाई विश्वकपको अन्तिम आठमा पुर्‍याए ।

लिभाकोभिचले जापानका टकुमी मिनामिनो, काओरु मितोमा र माया योसिदाको पेनाल्टी बचाए । पेनाल्टी प्रहारका लागि जापानबाट मिनामिनो पहिलो, मितामो दोस्रो र योसिदा चौथो खेलाडीको रूपमा आएका थिए । जापानका टकुमा असानो मात्रै पेनाल्टीमा गोल गर्न सफल भए ।

यता, क्रोएसियाका निकोला भ्लासिच, मार्सेलो ब्रोजोभिच र मारियो पासालिचले गोल गरे । क्रोएसियाका मार्को लिभाजाको प्रहार जापानका गोलकिपर सुइची गोन्डाले विफल बनाएपनि टिमको हार टार्न भने सकेनन् ।

जारी विश्वकपमा पेनाल्टी सुटआउटमा पुगेको पहिलो नकआउट खेल हो । त्यसअघि खेलको ४४ औँ मिनेटमा डाइजेन माईडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा आक्रामक बनेको क्रोएसियाले ५५ औँ मिनेटमा बराबरी गोल गरेको थियो । इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काएका थिए ।

त्यसपछि दुवै टिमले इन्जुरी टाइमबाहेक १२० मिनेटसम्म गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जितसँगै क्रोएसियाले सेमिफाइनल प्रवेशका लागि आजै हुने ब्राजिल र दक्षिण कोरियाबीचको विजेतासँग खेल्नेछ ।

जापान समूह ‘ई’ को विजेताको रूपमा अन्तिम–१६ मा आउँदा क्रोएसिया समूह ‘एफ’ को उपविजेताको रूपमा अन्तिम–१६ मा आएको थियो ।