कांग्रेस यातायात व्यवसायीको सिन्डिकेटको पक्षमा छैन - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

कांग्रेस यातायात व्यवसायीको सिन्डिकेटको पक्षमा छैन



वैशाख । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले कांग्रेस यातायात व्यवसायीको सिन्डिकेटको पक्षमा नरहेको स्पष्ट पारेकी छिन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भुसालले समस्या समाधानका लागि व्यवसायीलाई पक्राउ गर्नुको साटो वार्तामार्फत सहमति खोज्न कांग्रेसले आग्रह गरेको बताइन् ।

ससंदीय दलकी सचेतकसमेत रहेकी भुसालले राज्यले व्यवसायीलाई विनाकारण पक्राउ गरेकाले त्यस्तो धरपकड अन्त्य गरी वार्तामार्फत अगाडि बढ्न सुझाब दिएको तर कांग्रेस सिन्डिकेटको पक्षमा नरहेको दाबी गरिन् ।

यातायात सेवा अवरुद्ध पारेको भन्दै सरकारले २१ र २२ गते देशभरबाट व्यवसायी तथा पदाधिकारीलाई पक्राउ गरेको थियो । त्यसलगत्तै प्रतिपक्षी दल कांग्रेसले यातायात व्यवसायीको धरपकड बन्द गर्न सरकारलाई आग्रह गरेको थियो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरको विज्ञप्तिमा धरपकड बन्द गर्न र यातायात व्यवसायीहरूसँग वार्ता गरी वार्ताबाट समस्याको समाधान खोज्न सरकारलाई अपिल गरिएको थियो ।

फरक प्रसङ्गमा भुसालले कुनै आरोप लगाउने वितिकै सासंदलाई अपराधी ठान्न नहुने बताइन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली मस्यौदा समितिले पेश गरेको मस्यौदामा कांग्रेसले सासंद निलम्बन गर्ने व्यवस्था राख्न कांग्रेसले नदिएकोबारेमा उनले भनिन्, “सासंद भनेको सार्वजनिक व्यक्ति हो । उसका हरेक जीवनशैली सार्वजनिक हुनुपर्छ । अभियोग लाग्ने वित्तिकै प्रहरीले समातेर थुनिदिने प्रवृत्ति विगतमा पनि भएको हुनाले आरोप लाग्नेवित्तिकै निलम्बन हुने कुरा जायज छैन ।”

गलत आरोप लगाउने सम्भावना पनि हुने भएकाले अभियोग लाग्नासाथ निलम्बन गर्न नहुने उनको तर्क ।