देउवालाई 'ब्याक' गराउन सशक्त रूपमा प्रस्तुत हुने कांग्रेस नेताहरूको तयारी - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

देउवालाई ‘ब्याक’ गराउन सशक्त रूपमा प्रस्तुत हुने कांग्रेस नेताहरूको तयारी



काठमाडौं- निर्वाचन आयोगले समानुपातिकको समेत अन्तिम परिणाम सार्वजनिक गरेपछि प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले भेला डाकेका छन् ।

देउवाले शनिबार पहिलोपटक कांग्रेसबाट निर्वाचित सबै सांसदको भेला बोलाएका हुन् । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेला बोलाइएको छ । तर उक्त कांग्रेसका केही नेताहरूले देउवालाई दबाब दिने तयारी गरेका छन् । देउवाले भेला डाकेपछि नेताहरू दौडधूपमा लागेका छन् ।

संसदीय दल र प्रधानमन्त्रीमा देउवाको विकल्प खोज्नुपर्ने आवाज उठिरहेका बेला इतर समूह र संस्थापन पक्षकै केही नेताहरू धेरै लोभ नगर्न आग्रह गर्ने तयारीमा जुटेका छन् । आजको भेलामा पार्टीका उपाध्यक्ष धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, शेखर कोइराला लगायतका नेताहरू सशक्त रूपमा प्रस्तुत हुने तयारीमा छन् ।

उनीहरूलाई साथ् दिन संस्थापन पक्षकै कतिपय नेताहरू समेत तयार भएका छन् । यस्तै नेता रामचन्द्र पौडेलको पक्षमा समेत केही नेताहरूले आवाज उठाउने तयारी गरेका छन् ।

भेलामा नवनिर्वाचित सांसदलाई बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायतका विषयमा छलफल हुने सांसद रामहरि खतिवडाले जानकारी दिएका छन् ।

यसैबीच, कांग्रेसले पुस पहिलो साता संसदीय दलको नेता चयन गर्ने भएको छ  । पुस ३ गते समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेपछि संसदीय दलको नेता चयन गर्ने कांग्रेसको तयारी छ  । कांग्रेस संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको गृहकार्यमा जुट्ने दलहरूको तयारी छ  । संसदीय दलको नेतृत्व लिन कांग्रेसमा आकांक्षीको दौडधुप छ  ।

कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षमा ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ जना सांसद निर्वाचित भएका छन् ।