कांग्रेसले सडक र सदनमा ताण्डव गर्दैन: शर्मा - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

कांग्रेसले सडक र सदनमा ताण्डव गर्दैन: शर्मा



दाङ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर नमुना प्रतिपक्षको भूमिका निभाउने बताएका छन् ।

प्रेस युनियन दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता शर्माले कांग्रेसले सरकारका सकारात्मक कामको समर्थन गर्ने र कमी–कमजोरी औंल्याएर सहयोग गर्ने भद्र प्रतिपक्षीको भूमिका निर्वाह गर्ने रणनीति अपनाएको बताए ।

‘कांग्रेसले सडकमा चक्काजाम र सदनमा हो–हल्ला गर्ने काम गर्दैन । शान्तिपूर्ण र रचनात्मक तरिकाले सरकारका नकारात्मक निर्णयको विरोध गर्छ’–प्रवक्ता शर्माले भने ।

उनले जनतालाई दुःख दिने काम कांग्रेसले कहिल्यै पनि नगर्ने स्पस्ट पारे ।

कांग्रेस लगातार नहार्ने र लगातार नजित्ने पार्टी भएको तथा पार्टीमा देखिएको गुटबन्दी र वामपन्थी एकताका कारण कांग्रेसले निर्वाचनमा पराजय भोगेको बताउँदै उनले अब पार्टीलाई नवीनतम् बनाउन लागिएको उल्लेख गरे ।

‘कांग्रेसले नेतृत्व गरेको सरकारलाई जति चुनौती थिए, अहिले ओली नेतृत्वको सरकारलाई छैन, यो अवस्थामा पनि वर्तमान सरकारले आर्थिक वृद्धिदरलाई ८ अंकमा पुर्‍याउन सकेन भने त्यो सबैभन्दा ठूलो दुर्भाग्य हुनेछ’–नेता शर्माले भने ।

उनले प्रधानमन्त्रीलाई दृढ इच्छाशक्ति, विशाल हृदय र अधिकतम् लचकता अपनाएर समृद्धिका पक्षमा अघि बढ्न पनि सुझाव दिए ।

उनले वर्तमान सरकारले ल्याएको बजेट यथार्थपरकभन्दा पनि बढी महत्वाकांक्षी भएको बताए । रासस