कांग्रेसको निर्णयले प्रेम आलेको सपना चकनाचुर - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

कांग्रेसको निर्णयले प्रेम आलेको सपना चकनाचुर



कैलाली- नेपाली कांग्रेस डोटीले कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ । सिट बाँडफाँट टुङ्गो लगाउन बालुवाटारमा बैठक निर्णायक बसेकै दिन डोटी कांग्रेसले भने गठबन्धन नगर्ने निर्णय गरेको छ ।

डोटी कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री बिर बहादुर बलायर र नेकपा एकीकृत समाजवादी पार्टीका नेता प्रेम आलेको जिल्ला हो । गठबन्धनबाट प्रेम आलेले टिकट पाउने चर्चा चलिरहेका बेला कांग्रेसले गरेको यस्तो निर्णयले राष्ट्रिय राजनीतिमै प्रभाव पार्ने देखिएको छ ।

बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले कांग्रेसले कसैसँग पनि तालमेल नगर्ने र एक्लै चुनाव लड्ने निर्णय गरेको जिल्ला सचिव गणेश खड्काले जानकारी दिए । बैठकले डोटीमा गठबन्धनको कुनै आवश्यकता र औचित्यता नभएको निष्कर्ष निकालेको छ ।

आज बैठकले उम्मेदवार बन्न आकांक्षीहरु पनि सिफारिस गरेको छ । डोटीमा गठबन्धनका तर्फबाट माओवादी र नेकपा एकीकृत समाजवादीले पनि दाबी गरेका थिए । माओवादीबाट मुख्यमन्त्री त्रिलोचन भट्ट र नेकपा एसबाट पूर्वमन्त्री आले गठबन्धनबाट सिटको दाबी गरिरहेका थिए ।

डोटीमा गठबन्धनको मापदण्डअनुसार नेकपा एसका नेता प्रेम आलेले टिकट पाउने पक्का बहेको बताइएको थियो । यहि चर्चाले पनि डोटी कांग्रेसले हतारमा यस्तो निर्णय गरेको बताइएको छ । कांग्रेसको यस्तो निर्णयले सबैभन्दा बढी असर भने प्रेम आलेलाई नै पर्ने देखिन्छ ।

यहाँबाट कांग्रेसमै पनि पाँच नेताले दाबी गरेका छन् । पूर्वमन्त्री तथा प्रदेश सभापति वीरबहादुर बलायरसँगै प्रदेशसभा सदस्य भरत बहादुर खड्काले पनि दाबी गरेका छन् । त्यस्तै, यज्ञराज पाठक, गोरख विष्ट (आनन्द) र धिरेन्द्र शाहीले पनि ईच्छा व्यक्त गरेका छन् ।