नयाँशक्तिका उम्मेदवार सहित १६ जना काँग्रेस प्रवेश - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

नयाँशक्तिका उम्मेदवार सहित १६ जना काँग्रेस प्रवेश



लोकेन्द्र रावल
टीकापुर २० बैशाख÷संघीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ मा नयाँशक्तिबाट उम्मेदवार रहेका वसन्त केसी नेपाली काँग्रेस प्रवेश गर्नुभएको छ ।

काँग्रेस कैलाली क्षेत्र नम्बर १ ले नयाँ वर्ष २०७५ सालको अवसरमा बिहीबार टीकापुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा केसीलाई काँग्रेसले स्वागत गरेको छ ।

काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले केसीलाई सदस्यता प्रदान गर्दै स्वागत गर्नुभएको छ । सभापति शाहले केसी लगायत अन्य १६ जनालाई समेत स्वागत गर्नुभएको छ । पार्टी प्रवेश गर्दै केसीले नयाँशक्ति बाट महाशक्तिमा प्रवेश गरेको बताउनुभयो ।  उहाँले काँग्रेस देशका लागि अभिन्न शक्ति भएको बताउँदै लोकतन्त्रको पक्षमा लड्नु काँग्रेसको सुन्दरता भएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रहनु भएको सभापति शाहले काँग्रेसलाई हरेक युवाको रोजाई बनाउन वडा स्तरको नेतृत्व युवाको काँधमा सुम्पिनुपर्ने बताउनुभयो । उहाँले वडाले नै पार्टीलाई बलियो बनाउने भएकाले नेतृत्वका लागि अघि सर्न युवालाई आग्रह गर्नुभयो ।

उहाँले क्रियाशील सदस्य बन्न एक जनाले अनिवार्य पाँच जनालाई साधारण सदस्य बनाउनुपर्ने नीति अवलम्बन गरेर क्रियाशील सदस्यता वितरणको दुरुपयोग रोक्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जात र क्षेत्रका आधारमा राजनीतिलाई काँग्रेसले स्थान दिन नहुने बताउनुभयो ।

उहाँले पार्टी सत्तामा हुँदा काँग्रेस बन्ने र प्रतिपक्षमा हुँदा अन्य पार्टीमा भाग्ने अवसरवादी बाट सचेत रहन आग्रह गर्दै इमान्दार कार्यकर्ताको सम्मान हुनुपर्ने बताउनु भयो । सोही कार्यक्रममा विशिष्ट अतिथि पूर्वराज्यमन्त्री चन्द्रसिँह भट्टराईले पार्टीको नेतृत्व उर्जावान हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले युवाहरूको सक्रियताले पार्टीले ऊर्जा प्राप्त गर्ने बताउँदै नेतृत्वले युवाहरूलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश नम्बर ७ का सांसद डाक्टर रणबहादुर रावलले बाम गठबन्धनले अर्कालाई गाली गरेर लोकप्रियता कमाएको बताउनु भयो ।

उहाँले काँग्रेसले सबैको सम्मान गर्न जानेको बताउँदै विचारमा कमजोर हुनेहरु गालीगलौजमा उत्रिने बताउनुभयो ।उहाँले प्रदेश सभामा काँग्रेसको उपस्थिति संख्यात्मक रूपमा कम भए पनि विचारका हिसाबले बलियो भएको बताउनुभयो । सोही अवसरमा नेपाल प्रेस युनियनका तर्फबाट नेपाल पत्रकार महासङ्घ प्रदेश नम्बर ७ को महासचिवमा निर्विरोध निर्वाचित हुनुभएका योगेश रावललाई सम्मान गरिएको थियो ।

क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रदेश नंम्बर ७ का सांसद उमादेवी वादी, पूर्व सभासद् बुद्धीसागर चौधरी, महा समिति सदस्य विरबहादुर हमाल, जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरी, जानकी गाउँपालिका का अध्यक्ष प्रदिप चौधरी, जोशीपुर गाउँपालिका वडा नंं ०१ का अध्यक्ष डिल्ली चौधरी, नगर उपसभापति नरेश खत्री, साविकको पथरैया गाउंशाखा सभापति काशिराम देवकोटा, सम्मानित व्यक्तित्व योगेश रावल, विद्यार्थी नेता नमराज उपाध्याय, शिक्षक सङ्घ कैलालीका अध्यक्ष गणेश ओझा, नेपाल तरुण दलका क्षेत्रीय सभापति रामबहादुर भण्डारी, विरेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापति धनञ्जय रिमाल, नेपाल महिला सङ्घका नगर अध्यक्ष केशरी सोडारी लगायतले बोल्नु भएको थियो ।
परशुराम महत्तोंले स्वागत गर्नुभए को कार्यक्रम क्षेत्रीय सचिव प्रकाश शाहले सञ्चालन गर्नुभएको थियो ।