कांग्रेस नेताहरुले भने: भारतविरुद्ध लड्न कार्यकर्तालाई आग्रह - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

कांग्रेस नेताहरुले भने: भारतविरुद्ध लड्न कार्यकर्तालाई आग्रह



झापा – नेपाली कांग्रेसका नेताहरुले नेपालको सीमा अतिक्रमणविरुद्ध लड्नका लागि कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

भारतको नयाँ नक्सामा नेपालका सीमा क्षेत्र लिपुलेक, लिम्पियाधुरा तथा कालापानी गाभिएपछि उनीहरुले सीमा अतिक्रमणकाविरुद्ध चर्को आवाज उठाउन कार्यकर्ताहरुलाई आह्वान गरेका छन्।

नेपाली कांग्रेस झापाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतले विगतदेखि पूर्वदेखि पश्चिमसम्म सीमामा प्रभुत्व जमाएकाले त्यस्काविरुद्ध जोडतोडका साथ आवाज उठाउनुपर्ने बताए।

उनले भने, ‘हाम्रा सीमा क्षेत्रमा हाम्रो उपस्थिति छैन। विगतमा हाम्रा पनि कमजोरी भएकै हुन्। अब सीमा अतिक्रमणविरुद्ध बोल्ने माहोल बनेको छ। यही बेला सरकारले कुटनीतिक पहल गर्नुपर्छ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सीमा अतिक्रमणका विरुद्ध कांग्रेसका नेता तथा कार्यकर्ता गोली खान तयार रहेको बताए।

उनले भारतले सार्वजनिक गरेको नयाँ नक्साका बारेमा परराष्ट्र मन्त्रालयको विज्ञप्तिलाई पुतलीको संज्ञा दिए। उनले भने, ‘न सही गर्ने मान्छे पद छ न कुनै छाप। सही पनि पुतलीजस्तो। के यही हो हाम्रो परराष्ट्र नीति?’

उनले पूर्वदेखि पश्चिमसम्म सडक संघर्षमा कांग्रेसका कार्यकर्ता उठ्नुपर्ने बताए।